अमेरिकी डलरको सामू नेपाली रुपैयाँ इतिहासमै सबै भन्दा कमजोर बिन्दुमा पुगेको छ। आज नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुग्दा नेपाली मुद्रा इतिहासकै कमजोर स्थितीमा आइपुगेको जनाएको हो ।
राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको सटही विनिमयदर १२४.२५ रुपैयाँ छ । यस्तै, यसको खरिददर १२३.६५ रुपैयाँ छ । जुन, अहिलेसम्मकै उच्च बिन्दु हो । विश्वव्यापीरूपमा फैलिइरहेको कोरोना महामारी यता नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बन्दै छ ।
नेपाली रुपैयाँको तुलनामा डलर बलियो बन्दा नेपालले विदेशबाट आयात गर्ने वस्तुको बढी मूल्य तिर्नुपर्ने हुन्छ । यस्तै, नेपालबाट हुने निर्यातमा बढी मुद्रा आर्जन हुन्छ । तर, नेपालको आयात बढी र निर्यात न्यून रहँदा वैदेशिक व्यापारमा डलर बलियो बन्दा नेपाललाई घाटा हुने स्थिती हुन्छ । यसैगरी, रेमिट्यान्स आप्रवाह डलरमा हुने हुँदा यसतर्फ भने नेपाललाई फाइदा हुन्छ ।
यसअघि, गत वर्षसम्ममा एक डलरको सटहीदर ११९ रुपैयाँको हाराहारीमा थियो । जुन, अहिले बढेर १२४ रुपैयाँभन्दा माथि पुगेको छ । यसैगरी, आज एक युरोको सटहीदर १३०.९० रुपैयाँ र खरिददर १३०.२७ रुपैयाँ छ । यस्तै, पाउण्ड स्टर्लिङको सटहीदर १५३.११ रुपैयाँ र खरिददर १५२.३७ रुपैयाँ छ ।
८७.०१ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिददर ८६.५९ रुपैयाँ छ भने ८९.२३ रुपैयाँमा बिक्री भइरहेको सिंगापुर डलरको खरिद मूल्य ८८.८० रुपैयाँ छ । यस्तै, १० जापानी येनको बिक्री दर ९.४७ रुपैयाँ र खरिद दर ९.४३ रुपैयाँ छ ।
यस्तै, चिनियाँ युवानको बिक्रीदर १८.४७ रुपैयाँ र खरिद मूल्य १८.३८ रुपैयाँ छ भने साउदी रियालको बिक्री दर ३३.१२ रुपैयाँ र खरिद मूल्य ३२.९६ रुपैयाँ छ । ३४.०१ रुपैयाँमा बिक्री भइरहेको कतारी रियालको खरिद दर ३३.८४ रुपैयाँ छ । यसैगरी, संयुक्त अरब इमिरेट्सको बिक्री दर ३३.८३ रुपैयाँ कायम हुँदा खरिद दर ३३.६६ रुपैयाँ कायम छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ