माइक्रो ब्लगिङ साइट ट्वीटरले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाएको स्थायी प्रतिबन्ध हट्ने भएको छ । ४४ अर्ब डलरमा ट्वीटर कम्पनी खरिद गर्ने निर्णय गरिसकेका एलन मस्कले ट्वीटरको स्वामित्व आफ्नो नाममा आइसकेपछि ट्रम्पमाथिको प्रतिबन्ध हटाउने घोषणा गरेका हुन् ।
ट्वीटर बोर्डले गत महिना नै ४४ अर्ब डलरमा एलन मस्कलाई कम्पनी बिक्री गर्न सहमति जनाइसकेको भए पनि सबै प्रक्रिया पूरा हुन अझै दुई तीन महिना लाग्ने बताइएको छ । फाइनान्सियल टाइम्स फ्युचर अफ द कार समिटमा बोल्दै मस्कले आफुले ट्रम्पमाथिको स्थायी प्रतिबन्धलाई उल्टाइदिने भन्दै तर ट्वीटरको स्वामित्व अझै आफ्नो नाममा नआइसकेको हुँदा भविष्यमा यो भइहाल्छ भनेर अहिल्यै भन्न नसक्ने बताए ।
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथिको प्रतिबन्ध नैतिक रुपमा गलत र मूर्खतापूर्ण निर्णय भएको एलन मस्कको भनाइ छ । स्मरण रहोस् सन् २०२१ मा अमेरिकी संसद क्यापिटोल हिलमा ट्रम्प समर्थकले हिंसा मच्चाएपछि सोसल मिडियामार्फत् थप हिंसा मच्चिने सम्भावना रहेको भन्दै ट्वीटर, फेसबुक तथा गुगललगायतका सोसल मिडिया प्लाटर्फमहरुले ट्रम्पमाथि प्रतिबन्ध लगाएका थिए । ट्रम्पको ट्वीटर अकाउन्ट स्थायी रुपमा निलम्बित गरिएको ट्वीटरले जनाएको थियो ।
प्रतिबन्धले ट्रम्पलाई चुप गराउन नसकेको भन्दै उनले ट्रम्प आफ्नै सोसल साइट खोलेको र त्यसले चरम दक्षिणपन्थी तप्कामा उनको आवाजलाई झनै मुखरित बनाएको बताएका छन् । ट्वीटरमा आफूमाथिको प्रतिबन्ध फुकुवा भएर आफ्नो पुरानो अकाउन्ट पुनर्स्थापित भए तापनि आफू पुनः ट्वीटरमा नफर्किने ट्रम्पको भनाइलाई पनि मस्कले इंगित गरेका छन् ।
आपत्तिजनक ट्वीट गरेकै कारण प्रयोगकर्ताहरुलाई उनीहरुका सोसल मिडिया अकाउन्टबाट बञ्चित गर्ने विषयका बारेमा आफूले ट्वीटरमा सहसस्थापक ज्याक डोर्सीसँग पनि कुरा गरेको मस्कको भनाइ छ । डोर्सीसँगको छलफलको विषयमा मस्कले भनेका छन्- उनी र म के कुरामा समान धारणा राख्दछौं भने स्थायी प्रतिबन्ध भनेको अति नै दुर्लभ हुनुपर्दछ र केवल बोट्स वा स्क्याम अकाउन्टलाई मात्र स्थायी रुपमा प्रतिबन्ध गरिनुपर्दछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ