सोमवार, जेष्ठ २, २०७९

वीरगञ्जमा चुस्तदुरुस्त शान्ति सुरक्षा व्यवस्था


कान्तिपथ



आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बारा जिल्लामा शान्ति सुरक्षाको व्यवस्था चुस्तदुरुस्त पारिएको स्थानीय प्रशासनले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी साथै आवश्यकता अनुसार नेपाली सेनालाई परिचालन गरी सुरक्षा व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।

मतदानस्थलको सुरक्षामा थप सुरक्षाकर्मीको आवश्यकता परे तत्कालै थप सुरक्षा सुरक्षाकर्मी उक्त स्थानमा पुग्नसक्ने गरी मतदानस्थलमा सुरक्षाको व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिनुभयो । जिल्लाभर कूल ३०३ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

यता असहाय, अशक्त, वृद्धवृद्धा, अपाङ्गताका लागि मतदान गर्न उचित व्यवस्थापन गर्ने जिल्ला निर्वाचन कार्यालय, बाराले जनाएको छ । यसैगरी, निर्वाचनलाई भयरहित शान्ति सुरक्षितरूपमा सम्पन्न गर्न तयारी भएको बताइएको छ । मतदानपछि मत गणनास्थललाई सुरक्षित राख्न तारजालीको प्रयोग गरी आवश्यकता अनुसार सिसी टिभीसमेत जडान गरिएको हो ।

बारामा छ वटा राष्ट्रिय दल र २९ वटा साना दल गरी ३५ वटा साना÷ठूला दलका प्रतिनिधिसहित स्वतन्त्र रुपमा उम्मेदवार स्थानीय चुनावमा प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समादवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य साना दलका उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय अनुसार बारामा पुरुष दुई लाख ३१ हजार ८२६, महिला एक लाख ९१ हजार ४९० र तेस्रो लिङ्गी ११ जना गरी कुल चार लाख २३ हजार ३२७ जना मतदाता रहेकोे जनाएको छ ।

पाँच सयमध्ये ७७ मात्र हतियार बुझाइयो

पर्सामा स्थानीय तहको निर्वाचनका लक्षित गरी जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिइएका सबै हातहतियार बुझाउन प्रशासन कार्यालयको आग्रह गरे पनि अधिकांशले हातहतियार बुझाएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी ओमप्रकाश खनालका अनुसार जिल्लामा इजाजत लिएका करिब कूल ५०० हातहतियारमध्ये विभिन्न ठाउँबाट हालसम्म ७७ वटा हात हतियार मात्रै बुझाइएकोे हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार इजाजत लिइएकामध्ये करिब ५०० को हाराहारीमा हातहातियार नवीकरण हुँदै आएको तथ्याङ्क छ । इजाजत लिएका ती हतियार प्रायः सबै एक नाले र दुईनाले बाह्र बोरका रहेका छन्

–––

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत