शुक्रबार, बैशाख ७, २०८१

निर्भिकताका साथ मतदान गर्न आग्रह


कान्तिपथ


शुक्रबार सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा प्रदेश नं १ मा राजनीतिक दल र तिनका उम्मेदवारबीचका मित्रवत् व्यवहार देखिएको छ । यसले गर्दा प्रदेशमा अहिलेसम्म अप्रिय घटना नभएको पाइएको छ । उम्मेदवारले निर्वाचन प्रचारप्रसारका क्रममा मित्रवत् व्यवहार प्रदर्शन गरेका थिए । लगभग दुई दर्जनभन्दा बढी राजनीतिक दलका उम्मेदवारले निर्वाचनमा भाग लिएका छन् ।

सबै दल र तिनका उम्मेदवारले आ–आफ्नो सिद्धान्त, विचार र सङ्कल्पका साथ जनतामाझ गएकाले निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित एवं पारदर्शी हुने कुरामा प्रहरी, प्रशासन, रानजीतिक दल र निर्वाचन कार्यालय विश्वस्त देखिएका छन् ।

निर्वाचनमा यस प्रदेशमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र राष्ट्रसेवक कर्मचारी गरी ५४ हजार ५५० जनशक्ति परिचालित भएका छन् ।

यसैगरी म्यादी प्रहरी १७ हजार ३७२, नेपाल प्रहरी १० हजार ५९१ परिचालन भएको प्रदेश नं १ प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार विसीले जानकारी दिनुभयो ।

उहाँले प्रदेशको भौगोलिक, जनसङ्ख्या, मतदाता र मतदान केन्द्रहरुको धरातलमा उभिएर निर्वाचनमा अप्रिय घटना हुन नदिन प्रदेशमा ८४९ स्थान सम्वेदनशील र ३२१ स्थान अतिसम्वेदनशील तथा ७०७ स्थान सामान्य स्थान पहिचान गरी सुरक्षाको प्रबन्ध मिलाएको बताउनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रदेश प्रहरी कार्यालय रहने गरी एक प्रदेश सुरक्षा समिति बनेको र मतदानको अवधिमा अराजक गतिविधि भएमा तुरुन्तै त्यसको नियन्त्रण, निराकरण एवं व्यवस्थापनमा हवाई गस्तीसहितको सुरक्षा निकाय परिचालन हुने प्रहरी नायब महानिरीक्षक विसीले बताउनुभयो ।

उहाँले विगतको अभ्यासलाई नियाल्दा अहिले निर्वाचन विरोधी गतिविधि नभएको, सबै दलहरु सौहार्दपूर्ण वातावरणमा निर्वाचनमा सहभागी भएकाले अप्रिय घटना हुने सम्भावना कम रहेको प्रतिक्रिया दिनुभयो ।

प्रदेश अन्तर्गत गाउँपालिका ८८, नगरपालिका ४६, उपमहानगरपालिका दुई र महानगरपालिका एक गरी कूल १३७ पालिकामा एक हजार १५७ वडा छन् । प्रदेशमा १६ लाख ९९ हजार ८०० पुरुष, १६ लाख ४५ हजार ५६१ महिला र २३ अन्य गरी जम्मा ३३ लाख ४५ हजार ३८४ मतदाता छन् भने यसका लागि सुरक्षामा उदयपुर जिल्लाबाहेक अन्य जिल्लाका गरी कूल चार हजार ५७७ सशस्त्र प्रहरी र २२ हजार कर्मचारी परिचालन भएको सम्बन्धित जिल्लाका प्रमुख जिल्लाका अधिकारीले जानकारी दिएका छन् ।

चौध जिल्ला रहेको प्रदेशमा मतदानस्थल एक हजार ८७७ र मतदान केन्द्र चार हजार ५१ छन् । मतदान केन्द्रमा तीन घेरामा सुरक्षा निकाय बस्ने, पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाल सेनाका टोली रहने भएकाले निर्वाचनमा कुनै पनि समस्या नआउने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

निर्वाचन मिति घोषणा भएदेखि अहिलेसम्म प्रहरी प्रशासनले गर्ने काम व्यवस्थित एवं मर्यादित ढङ्गले सम्पादन गरेको जनाउँदै उहाँ भन्नुभयो, “मतदान अवधिमा प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति पनि रहेकाले मतदाता निर्भिकताका साथ मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गर्नुपर्छ ।”

खोटाङका प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहाले यस जिल्लामा केही स्थान संवेदनशील र केही स्थान अतिसंवेदनशील पनि रहेकाले निर्वाचनमा अप्रिय घटना हुन नदिन विशेष सतर्कता अपनाएको प्रतिक्रिया दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत