शुक्रबार, फाल्गुन २, २०८१

स्थानीय निर्वाचनः गाउँमा चहलपहल, सहर सुनसान


कान्तिपथ


नेपालगञ्जमा होटल व्यवसाय गर्दै आउनुभएकी बैजनाथकी लक्ष्मी योगीलाई चुनावमा भाग लिन गाउँ जाने तर्खरमा हुनुहुन्छ । बैजनाथ गाउँपालिका–२ निवासी उनी अरु बेला नेपालगञ्जमा होटल व्यवसाय गरे पनि भोट हाल्न गाउँ जाँदा रमाइलो हुने बताउनुहुन्छ । बाँकेको नेपालगञ्ज र कोहलपुरमा पेशा तथा व्यवसाय गरेर बस्दै आएका अधिकांश सर्वसाधारण आ–आफ्नो गाउँमा फर्किसकेका छन् । आसन्न निर्वाचनमा मतदानको लागि आज साँझसम्म सबैजसो सर्वसाधारण आ–आफ्नो गाउँ फर्किसक्ने होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले जानकारी दिनुभयो ।

उहाँले नेपालगञ्जमा होटल व्यवसाय गर्दै आएका अधिकांश व्यवसायी आ–आफ्नो गाउँमा भोट हाल्न पुगेको जानकारी दिनुभयो । होटल व्यवसायी चुनावमा भोट हाल्न गाउँ गएका कारण नेपालगञ्जका धेरैजसो होटल बन्द भएका छन् । निर्वाचनले सहरमा भन्दा गाउँमा चहलपहल बढाएको छ । पेसा तथा व्यवसायमा व्यस्त हुँदै आएका सर्वसाधारणले निर्वाचनलाई गाउँ पुगेर घरपरिवारसँग भेटघाट गर्ने अवसरका रुपमा पनि लिएको उहाँको भनाइ छ ।

सहरमा पेशा तथा व्यवसाय गर्ने सर्वसाधारण निर्वाचनमा भाग लिन गाउँ फर्किएपछि यतिबेला सहरमा भन्दा गाउँमा चहलपहल बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो । बाँकेमा स्थानीय तहको निर्वाचनको लागि निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी करिब छ हजार २०० परिचालन भएका छन् ।

निर्वाचनका लागि जिल्लाका आठवटै पालिकामा निजामती र संस्थानका कर्मचारी गरी दुई हजार २०० परिचालन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनका लागि बाँकेमा चार हजार बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा १३६ मतदान केन्द्र र ३७९ मतदानस्थल छन् । जिल्लाका १३६ मतदान केन्द्रमध्ये १०६ मतदान केन्द्र अत्यन्तै संवेदनशील र ३० मतदान केन्द्र संवेदनशील रहेको सुरक्षा विश्लेषण गरी यसैअनुरुप सुरक्षा प्रबन्ध मिलाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत