आइतवार, बैशाख २७, २०८३
  • गृहपृष्‍ठ
  • बिश्व
  • एप्पललाई पछि पार्दै ‘साउदी आरामको’ बन्यो विश्वको सबैभन्दा मूल्यवान् कम्पनी

एप्पललाई पछि पार्दै ‘साउदी आरामको’ बन्यो विश्वको सबैभन्दा मूल्यवान् कम्पनी


कान्तिपथ


साउदी अरबको तेल कम्पनी ‘साउदी आरामको’ विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । अमेरिकी प्रविधि कम्पनी एप्पललाई उछिन्दै ‘साउदी क्राउन’को लगानी रहेको ‘साउदी आरामको’ विश्वकै मूल्यवान् कम्पनी बनेको हो ।

रुस–युक्रेन युद्धको प्रभावका कारण विश्वभरमा आएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारणले साउदी आरामकोलाई फाइदा भएको छ । विश्वभर कच्चा तेलको मूल्यमा उच्च वृद्धि आउँदा त्यसको प्रत्यक्ष फाइदा साउदी आरामकोले उठाएको हो ।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार हाल अमेरिकी प्रविधि कम्पनी एप्पलको बजार मूल्य २.३७ ट्रिलियन अमेरिकी डलर छ । जबकि, साउदी अरबको तेल कम्पनीको बजार मूल्य २.४३ ट्रिलियन अमेरिकी डलर पुगेको छ ।

यसअघि, यस वर्षको सुरूमा एप्पलको बजार मूल्य ३ ट्रिलियन डलर पुगेको थियो । बजार मूल्य ३ ट्रिलियन डलर पुगेसँगै एप्पल धर्तीको सबैभन्दा धनी र उक्त सफलता हासिल गर्ने सबैभन्दा पहिलो कम्पनी बनेको थियो । तर, विस्तरै सेयर मूल्य घट्दा कम्पनीको बजार मूल्य घटेर २.३७ ट्रिलियन डलरमा आइपुगेको छ ।

साउदी अरबको तेल उत्खनन र बिक्रेता कम्पनी साउदी आरामको सन् २०१९ मा २ ट्रिलियन बजार मूल्य भएको कम्पनीको बनेको थियो । तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा खनिज तेलको मूल्यमा आएको मूल्यवृद्धिले कम्पनीलाई विश्वकै सबैभन्दा उच्च मूल्यवान् कम्पनीको दर्जा दिएको छ ।

रुसले छिमेकी मुलुक युक्रेनमा आक्रमण गरेपछि विश्वभर पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या उत्पन्न भएको थियो । यससँगै विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । रुसले युक्रेनमाथि हमला गर्नुअघि प्रतिब्यारेल ९० अमेरिकी डलरभन्दा न्यून रहेको कच्चा तेलको मूल्य अहिले १०६ अमेरिकी डलरभन्दा माथि छ । जसको प्रत्यक्ष फाइदा साउदी आरामकोलाई पुगेको छ ।

साउदी आरामको विश्वको सबैभन्दा ठुलो तेल उत्खनन र बिक्रेता कम्पनी हो । साउदी अरबको ‘पब्लिक इन्भेस्टमेन्ट फण्ड’ (पीआईएफ)को लगानी रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत