मास्टरसेफसम्मको यात्रा गरेका नेपाली सेफ सन्तोष साहको जीवनमाथि फिल्म बन्ने भएको छ । ‘सेतो सूर्य’ का चर्चित निर्देशक दीपक रौनियारले उक्त फिल्मलाई निर्देशन गर्ने भएका छन् ।
निर्देशक रौनियारले फिल्म निर्माणबारे संवाद सुरु भएको बताएका छन् । ‘कन्भर्सेसन सुरु भएको छ । कहिलेदेखि फिल्म सुरु हुन्छ भन्नेबारे टुंगो लागिसकेको छैन,’ रौनियारले भने, ‘न्यारेटिभ, डकुमेन्ट्री र डकुड्रामा कुन फिल्म बन्छ निधो लागिसकेको छैन।’ तर फिल्म निर्माण निश्चित भएको उनले बताएका हुन् ।
अहिले नेपालमा रहेका साह र रौनियार दुवैले भेटघाट गर्दै फिल्म निर्माणको छलफल थालेका हुन् । फिल्ममा १४ वर्षको उमेरमा भारत पसेका सन्तोषको मास्टरसेफसम्मको यात्रालाई चित्रण गरिने जनाइएको छ ।
‘उहाँको जीवन प्र्रेरणादायी र रोचक छ,’ दीपकले भने । नौ वर्षको उमेरमा ढल सफा गर्दै परिवारको आर्थिक आवश्यकता पूरा गरेका सन्तोष १४ वर्षमा भारत पुगेर भाँडा माझ्ने काम गरेका थिए ।
सन् २०१० मा लण्डन पुगेका सन्तोष सन् २०२० मा बीबीसीको पाककला सम्बन्धी टीभी रियालिटी शोमा सेकेण्ड रनरअप घोषित भएका थिए । नेपाली परिकारलाई विश्वव्यापी चर्चित बनाउने आफ्नो सपना रहेको बताउने सन्तोषलाई हालै सरकारले पर्यटन दूत समेत घोषित गरेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ