शनिबार, फाल्गुन १२, २०८०

टीकापुरमा १८ मतदान अधिकृत महिला


कान्तिपथ



कैलालीको टीकापुर नगरपालिकामा बिहान ७ बजेबाट मतदान सुरु भएको छ । ९ वडा रहेको टीकापुरमा १६ मतदान केन्द्र तथा ५७ मतदानस्थल छन् ।

५७ मतदानस्थलमध्ये १८ मा मतदान अधिकृत महिला तोकिएका छन् । त्यसैगरी २५ महिला सहायक मतदान अधिकृतमा खटाइएको नगरस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अघिल्लो निर्वाचनलाई हेर्दा यी बुथमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी पाउनेमा महिलाको संख्या बढेको जनाइएको छ । टीकापुर नगरको प्रशासकीय अधिकृत रञ्जु आचार्यले यसपटक मतदान अधिकृत महिलाको संख्या बढेको बताउनुभयो । “यसपाली मतदान अधिकृत, सहायक मतदान अधिकृतमा महिलाको सङ्ख्या बढेको छ, त्यहाँ खटेका अन्य महिला कर्मचारीको सङ्ख्यासमेत बढी छ”, आचार्यले भन्नुभयो ।

यसअघि सहायक वा सहयोगी कर्मचारी भएर निर्वाचनमा खटिएका महिला यसपटक मतदान अधिकृत हुन पाउँदा जिम्मेवारीसँगै सिकाइसमेत हुने बताउँछन् । टीकापुर नगरको सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले स्थानीय तहका कर्मचारी नै निर्वाचनमा खटिएकाले टीकापुरमा कार्यरत कर्मचारी महिलाको सङ्ख्या धेरै भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “महिला कर्मचारीको सङ्ख्या बढेपछि यसपटक निर्वाचनमा समेत महिलाले जिम्मेवारी पाएका हुन् ।”

उहाँका अनुसार पुरुष मतदान अधिकृत रहेका ठाउँमा महिला कर्मचारी धेरै खट्नुभएकाले यसले महिलालाई सिक्ने अवसर र जिम्मेवारी पूरा गर्न सक्षम छन् भन्ने देखाउँछ । टीकापुर नगरमा ५२ हजार ८७२ मतदाता छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत