सोमवार, जेष्ठ २, २०७९

कुर्म अवतार जयन्ती मनाइँदै


कान्तिपथ


भगवान् विष्णुले दोस्रो कुर्मअर्थात् कछुवा अवतार लिएर देव एवं मानव कल्याणका लागि काम गरेको दिनको स्मरणमा आज कुर्म जयन्ती मनाइँदै छ ।समुद्र मन्थनको बेला देवता र दैत्य एक भएर मन्दराचल पर्वतलाई मदानी बनाइएको थियो । मन्दराचल पर्वत समुद्रको गहिराइमा डुबेको देखेर देवता र दैत्यको प्रार्थनाअनुसार भगवान् विष्णु कुर्म रूपले अवतरित भई समुद्रभित्र प्रवेश गरेर मन्दराचल आफ्नो पीठमा धारणा गरी समुद्र मन्थनमा सहयोग गर्नुभएको विषय विभिन्न पुराणमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ ।

समुद्र मन्थनको पौराणिकतास्वर्गका राजा इन्द्र एक दिन ऐरावत हात्तीमा सवार भएर यात्रा गर्दै हुनुहुन्थ्यो । अचानक उनको भेट महर्षि दुर्वासासँग हुन गयो । दुर्वासा ऋषिले देवराजको स्वागतार्थ आफ्नो गलाको माला निकालेर दिनुभयो । देवराज इन्द्रले माला आफूले नपहिरिई ऐरावत गजलाई लगाइदिनुभयो । ऐरावत मत्त भएर झुलिरहेको थियो । माला चुँडिएर भुइँमा खस्यो र ऐरावत हात्तीको गोडामुनि कुल्चियो ।

यो देखेर दुर्वासा ऋषि क्रोधित भएर देवराज इन्द्रलाई घमण्ड गरेको भनी राज्य पदच्युतको श्राप दिनुभयो । श्रापका कारण स्वर्गमा दैत्यहरूले कब्जा जमाए । दैत्यराज बली स्वर्गका राजा हुनुभयो । सधैँजसो देव दानवमा युद्ध हुन थाल्यो । देवताहरू सधैँ हार्दै गए । एक दिन देवताहरू साह्रै दुःखी भएर ब्रह्माजी ठाउँ गएर प्रार्थना गरे ‘हे सृष्टिकर्ता प्रभु ! दानवहरूले पूरा स्वर्ग नै सखाप पार्न थाले दैत्यराज बलिले उल्टो नियम चलाएर हजुरको सृष्टि विनाश गर्दै छन्, कोही उपाए सोच्नुहोस् नत्र हजुरको सृष्टि विनाश हुने बखत आयो’ यती सुनेर ब्रह्माजीले सबैलाई विष्णु भए ठाउँ जाने सल्लाह दिनुभयो ।

ब्रह्माजीसहित देवताहरू भगवान् विष्णुको वासस्थान वैकुण्ठ धाम गए । देवताहरूले भगवान् विष्णुको प्रार्थना गरेर सबै वृत्तान्त सुनाए । यो सुनेर भगवान् विष्णुले दैत्यहरूसँग मेल गरी समुद्र मथनको राय दिनुभयो । समुद्र मन्थनमा देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाएर क्षिर सागरलाई दही मथे जस्तै गरी मथ्नु पर्नेछ र यसरी मथिएमा सागरबाट अमृतको उत्पत्ति हुनेछ । अमृतको प्राप्तिपछि देवताहरूले अमृत खाएर दैत्यहरूसँग युद्ध गरी दानवहरूलाई मारेर पुनः स्वर्ग प्राप्ति हुने भगवान् विष्णुले सुनाउनुयो ।

यो उपाय थाहा पाएपछि देवताहरू दैत्य राज बलि भएको ठाउँमा गएर भने– “महाराज ! हामी एउटै बाबु कश्यप ऋषिका सन्तान हौँ, केवल हाम्री आमाहरू फरक भएकाले हामी सौते भाइ भयौँ, हामीले अब आपसमा वैरभाव राख्न उचित छैन, हामीहरूले भगवान् विष्णुको रायबमोजिम समुद्र मन्थन गर्नु प¥यो, जसबाट अमृत प्राप्ति हुनेछ, त्यो खाएर हामी कहिल्यै नमर्ने हुनेछौँ, हामीलाई भगवान् विष्णुले सहयोग गर्नुहुनेछ”, यो सुनेर दैत्यराज बलिसहित सबै दानवहरू देवताको योजनासँग सहमत भए । सबै मिलेर मन्दराचल पर्वतलाई उठाएर क्षिर सागरमा लगे । वासुकी नाग पनि नेती बन्नको लागि सहमत भए ।

मन्दराचल पर्वत समुद्रको गहिराइमा डुब्न लाग्यो । यो देखेर देव दानवहरू फेरि विष्णुको शरण लिन पुगे । भगवान् विष्णुले पनि कछुवाको रूप धारण गरेर पर्वतलाई आफ्नो पीठमा अड्काउनु भयो । समुद्र मन्थनबाट सबै भन्दा पहिले हलाहल नामको विषको उत्पत्ति भयो । हलाहल विषको असर देवताहरूले सहन सकेनन । भगवान् शिवले हलाहल विष सबै पिउनुभयो । शिवले हलाहल विष खाएपछि घाँटी निलो भयो । यसैले शिवलाई नीलकण्ठ भनिएको हो ।

समुद्र मन्थनबाट धनकी देवी लक्ष्मी, कामधेनु, रम्भा नामकी अप्सरा, उच्चश्रवा घोडा, भगवान् विष्णुको गलामा पहिरिएको कोस्तुभमणि, पारिजात कल्प वृक्ष, आदि १३ रत्न पछि अमृतको उत्पत्ति भएको थियो ।

मोहनी रूपी विष्णुले छल कपट गरेको थाहा पाएर दैत्यहरूले फेरि देवतामाथि आक्रमण गरे । देव दानवको भयङ्कर सङ्ग्राम मच्चियो । त्यसबेला देवराज इन्द्रपुत्र जयन्तले अमृत कलशको रक्षाको जिम्मा लिनुभयो । युद्ध पूरा १२ वर्षसम्म चलेको थियो । जयन्तले अमृत कलशलाई १२ वर्षसम्म चार अलग–अलग ठाउँमा राखेका थिए ।

जहाँजहाँ जयन्तले अमृत कलशअर्थात् कुम्भ कलशलाई राखेका थिए तिनै ठाउँहरूमा प्रत्येक १२ वर्षमा कुम्भ मेला लाग्दछ । कुम्भ कलश राखेको ठाउँमा अमृतका छिटा परेको विश्वास गरिन्छ । देवता–दैत्य युद्धमा धेरैजसो दैत्य मारिए । अमृत खाएकाले देवताहरू मरेनन् । अन्तमा देवताको विजय भयो । देवताहरूले पुनः स्वर्ग प्राप्त गरे ।

देवताहरूले भगवान् कुर्मको प्रार्थना गरे । भगवान् कुर्मले देवतालाई ‘जसले भगवान्को आशा राखेर कर्म गर्छ, त्यसैलाई सत्य सुख प्राप्त हुन्छ, जो घमण्ड र अभिमानको सहारा लिएर काम गर्छ, त्यसले कहिल्यै पनि अमृतजस्तो सुख प्राप्त गर्न सक्दैन’ भन्ने उपदेश दिएर अन्तध्र्यान हुनुभयो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत