सोमवार, जेष्ठ १५, २०८०

मीरा खड्काको अवकाश पश्चात हरिकृष्ण कार्की बने वरिष्ठतम् न्यायाधीश


कान्तिपथ


सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मीरा खड्काले अवकाश प्राप्त गरेकी छन् । २०१४ साल जेठ २ गते जन्मिएकी न्यायाधीश खड्का ६५ वर्षे उमेरहदका कारण आइतबारबाट अवकाशमा गएकी हुन् । खड्काले अवकाश पाएलगत्तै अब सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की वरिष्ठतम् न्यायाधीश बनेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए । जबरा निलम्बनमा परेपछि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् । कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिएपछि न्यायाधीश मीरा खड्का वरिष्ठतम् न्यायाधीश बनेकी थिइन् ।

सर्वोच्च अदालतमा न्यायाधीश बनेको करिब ६ वर्षपछि उनी उमेरहदका कारण सेवाबाट अवकाश पाएकी हुन् । महाभियोगको प्रस्ताव सफल भई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विदा भएको अवस्थामा आगामी असोज १५ गतेसम्म हरिकृष्ण कार्कीले वरिष्ठतम् न्यायाधीशको हकमा काम गर्नेछन् । त्यसपछि दीपककुमार कार्की ६५ वर्षे उमेरहदका कारण विदा हुनेछन् र कार्कीले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् ।

तर यदि जबरामाथिको महाभियोग विफल भई सर्वोच्च अदालत फर्किएको अवस्थामा भने वरिष्ठतम् न्यायाधीशका रुपमा दीपक कुमार कार्कीले कामकाज गर्नेछन् भने आगामी असोज १५ गतेबाट मात्रै हरिकृष्ण कार्की वरिष्ठतम् न्यायाधीशका रुपमा काम गर्नेछन् । आगामी मंसिर २७ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ६५ वर्षे उमेरहदका कारण अवकाशमा गएपछि भने कार्कीले न्यायपालिकाको बागडोर सम्हाल्नेछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत