जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानल नै विजयी भएको छ । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रुपमा धनबहादुरलाई अघि सारेका थिए ।
उनीहरुले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए । उनीहरुले निर्वाचन अधिकृतको कार्यालयदेखि वडा नम्बर ८ सम्म बाजागाजा र नाराजुलुस सहित विजय र्याली निकालेका छन् ।
संघीयता आएपछि पनि दलितको मुक्ति हुन नसकेको र दलितको नेतृत्वविना वडामा समृद्धि हुन नसक्ने भन्दै उनीहरुले दलको टिकट लिन मानेका थिएनन् ।
धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित भएका हुन् ।
वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका हुन् । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय भइन् ।
कनकासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् । एक जना महिला सदस्य मात्र कांग्रेसबाट बिजय भएको निर्वाचन अधिकृतको कार्यालय कनकासुन्दरीले जनाएको छ । महिला सदस्यमा काग्रेसकी रामुदेवी काफ्लेले जितिन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ