अघिल्लो स्थानीय तहको निर्वाचनमा मुलुकमा नै सबभन्दा बढी मत बदर भएको विराटनगर महानगरमा यसपटक झन् बढी मत बदर भएको छ । अघिल्लो निर्वाचनमा २४ दशमलव ०७ प्रतिशत मत बदर भएको विराटनगरमा अहिलेजारी मतगणनामा मेयरको ३० दशमलव ३२ र उपमेयरको ४३ दशमलव ६८ प्रतिशत मत बदर भएको हो ।
महानगरमा आइतबार दिउँसोसम्ममा ८ हजार ५ सय ४२ मत गणना हुँदा मेयरको २ हजार ५ सय ९० र उपमेयरको ३ हजार ७ सय ३१ मत बदर भएको प्रदेश १ निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । महानगरमा रहेको कुल मतदाता १ लाख ३३ हजार १ सय ४२ मध्ये ६७ दशमलव ३५ प्रतिशत अर्थात् ८९ हजार ६ सय ७८ मत खसेको छ ।
अघिल्लो निर्वाचनमा महानगरमा रहेको कुल मतदाता १ लाख १३ हजार ७ सय ६१ मध्ये ८० हजार ६ सय ८९ मत खसेको थियो। त्यसमध्ये १९ हजार ४ सय १९ मत बदर भएको थियो ।
मतदाता शिक्षा प्रभावकारी नहुँदा मत खासाल्ने बेला मतदाता अलमलमा परेकाले बदर मतको संख्या बढेको हो । विराटनगर महानगरपालिकाको वडा ७ स्थित आदर्श माध्यमिक विद्यालय मतदान केन्द्रमा कांग्रेस नेतृ सुजाता कोइरालाले समेत मतपत्र लामो र धेरै चिन्ह भएकाले मत हाल्ने बेलामा अलमलमा परेका थिए । उनलाई निर्वाचनमा खटिएका कर्मचारीले सहजीकरण गरेपछि मत हालेकी थिइन् ।
निर्वाचन आयोगले यसपटक स्थानीय तह निर्वाचनमा मतदाता शिक्षाको कार्यक्रम कटौती गरेको छ । आयोगले स्वतन्त्र रुपमा मतदाता शिक्षा नदिदा बदर मतको संख्यामा वृद्धि भएको स्थानीयको आरोप छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा यस प्रदेशस्थित १४ जिल्लामध्ये सबभन्दा बढी भोजपुरमा १३ दशमलव १२ प्रतिशत र सबभन्दा कम ताप्लेजुङमा १ दशमलव १६ प्रतिशत मत बदर भएको थियो । यस प्रदेशस्थित १३७ पालिकामध्ये सबभन्दा बढी मोरङको विराटनगर महानगरमा २४ दशमलव ०७ प्रतिशत र सबभन्दा कम ताप्लेजुङको फुङलिङ नगरपालिकामा ०.२२ प्रतिशत मत बदर भएको आयोगको तथ्यांकले जनाएको छ ।
यसपटकको स्थानीय तहको निर्वाचनका लागि सात वटै प्रदेशमध्ये सबभन्दा बढी ३३ लाख ४७ हजार ३८४ मतदाता रहेको प्रदेश १ मा १ महानगर, २ उपमहानगर, ४६ नगरपालिका, ८८ गाउँपालिका र १ हजार १५७ वडा छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ