कोभिड–१९ महामारीबाट चीनको अर्थतन्त्रमा अपेक्षा गरेभन्दा बढी प्रभाव परेको छ । चीन यतिबेला सांघाई शहरमा फैलिरहेको कोभिड महामारीसँग जुधिरहेको छ । जसबाट चीनको अर्थतन्त्रमा ठूलो क्षति पुगेको हो ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको खुद्रा बजार सबैभन्दा बढी प्रभावित बनेको छ । यस्तै, उद्योगहरूको उत्पादन समेत प्रभावित बनेको अमेरिकी समाचार संस्था सिएनएनले जानकारी दिएको छ ।
चीनको तथ्यांक विभागका अनुसार त्यहाँको खुद्रा व्यापार गत वर्षको तुलनामा ११.१ प्रतिशतले खुम्चिएको छ । यो यसअघि गरिएको ६.१ प्रतिशतको गिरावटको प्रक्षेपणभन्दा बढी हो । यसअघिको प्रक्षेपणभन्दा ५ प्रतिशत बढीले चीनको बजार प्रभावित बनेको पाइएको छ ।
यसैगरी, चीनको औद्योगिक उत्पादन २.९ प्रतिशत घटेको छ । जुन, अघिल्लो वर्षको तुलनामा यसअघि ५ प्रतिशतले सुधारिएको थियो । तर, सांघाईमा कोरोना महामारी फैलिएसँगै फेरी उत्पादनमूलक उद्योग प्रभावित बनेका हुन् । यसका साथै, चीनको रोजगार बजार ६.१ प्रतिशतले घटेको छ । जुन, मार्च महिनाको भन्दा ५.८ प्रतिशतले घटेको हो । यस्तै, यो तथ्यांक पछिल्लो २१ महिनायताकै उच्च हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ