सोमवार, जेष्ठ ५, २०८२

एक साता अगाडी नै मनसुन भित्रने


कान्तिपथ


फागुन १७ देखि जेठ १७ सम्मको अवधि प्रि–मनसुनको हो । यस वर्ष काठमाडौंमा फागुन पहिलो सातादेखि नै छिटपुट वर्षा भइरहेको छ । वैशाख १ पछि त झन् काठमाडौंमा बढी नै वर्षा भएको छ । तैपनि प्रि–मनसुनमा पर्नुपर्ने जति वर्षाको परिमाण पुग्न सकेको छैन ।

जल तथा मौसम विज्ञान विभागको हावापानी विज्ञान महाशाखाका अनुसार तीन महिनाको अवधिमा काठमाडौंमा सरदर २२९.६ मिमि वर्षा हुनुपर्छ, मंगलबारसम्म करिब १७२.७ मिमि वर्षा रेकर्ड भएको छ । यो ७२.२ प्रतिशत वर्षा हो ।

‘चैतसम्म काठमाडौं सुक्खा नै थियो, वैशाख तेस्रो सातादेखि प्रि–मनसुन सक्रिय भएपछि काठमाडौंमा वर्षाको परिमाण सरदरको नजिक छ,’ विभागको हावापानी विश्लेषण शाखाकी प्रमुख वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले कान्तिपुरसित भनिन्, ‘तर, मुलुकको पश्चिम भागमा अझै प्रि–मनसुन सक्रिय हुन सकेको छैन, धेरै स्थानमा सरदर वर्षा नै हुन सकेको छैन ।’

मार्च, अप्रिल र मे प्रि–मनसुन हुने महिना हुन् । यस पटक मे महिना सुरु भएपछि मात्र सबैतिर वर्षा भएको छ । ढिलो गरी प्रि–मनसुन सक्रिय भए पनि यो वर्षको मनसुन भने करिब साताअघि नै भित्रिने संकेत देखिएको विभागले जनाएको छ ।

विज्ञहरूका अनुसार बंगालको खाडी नजिकको निकोबार र एन्डमान टापु (भारतीय भाग) मा यस पटक औसत समयभन्दा करिब एक साताअघि (मे १६ अर्थात् सोमबार) नै मनसुनी गतिविधि सक्रिय भएकाले मनसुन एक साताअघि सुरु हुने बताउँछन् । मौसमविद् कँडेलका अनुसार गत वर्षहरूमा ती स्थानमा २२ मेमा मात्र मनसुनी गतिविधि सुरु हुन्थ्यो, त्यो हिसाबले नेपालमा जुन दोस्रो सातादेखि मात्र मनसुन प्रवेश गर्थ्यो ।

‘निकोबार र एन्डमानमा सोमबारदेखि सुरु भएको गतिविधिले यो पटक जुन पहिलो साता नै मनसुन भित्रिने संकेत छ,’ कँडेलले भनिन् । सामान्यतः नेपालमा जेठ ३०, ३१ (१३ जुन) मा दक्षिण पूर्वी नेपालबाट मनसुन प्रवेश गर्ने बताइन्छ । औपचारिक घोषणा नगरे पनि १५ जुनसम्ममा काठमाडौं र २० जुनभित्र नेपालभर मनसुन फैलने बताइने गरिन्थ्यो ।

तर, यो वर्ष निकोबार र एन्डमानमा सरदरभन्दा साताअघि देखिएको मनसुनी गतिविधिका कारण नेपालमा सदरभन्दा एक साताअघि प्रवेश गर्न सक्ने मौसमविद्हरूको विश्लेषण छ । सामान्यतः नेपालमा ११२ दिन मनसुन रहन्छ । गत वर्ष जेठ ३० (जुन १२) मा मनसुन भित्रिनुपर्नेमा २ दिनअघि नै भित्रिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत