आइतवार, बैशाख ९, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • प्रधानमन्त्रीको जिल्ला डडेल्धुराको नतिजा : सातमध्ये पाँचमा कांग्रेस, एमाले शून्य

प्रधानमन्त्रीको जिल्ला डडेल्धुराको नतिजा : सातमध्ये पाँचमा कांग्रेस, एमाले शून्य


कान्तिपथ


सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा यहाँ नेकपा (एमाले) ले २ र माओवादीले एक स्थानीय तह जितेका थिए । यसपालि एमालेले सबै तह गुमाएको छ भने माओवादीले दुई स्थानीय तह हात पारेको छ ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा कांग्रेसका नगरप्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वती झुकालसहित १० वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यस्तै भित्रिमधेसको परशुराम नगरपालिकामा कांग्रेसका भरत बडायर जोशी तथा उपप्रमुखमा माओवादी केन्द्रका विमला महता निर्वाचित हुनुभयो । यस नगरपालिकाका वडाहरुमा पनि कांग्रेसको सहज जित भएको छ ।

कांग्रेसले गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिका पनि जितेको छ । यहाँका आलिताल र अजयमेरु गाउँपालिकामा नेकपा (माआवादी केन्द्र) आएको छ । उता अजयमेरु गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकी वशन्ती पाल विजयी हुुनुभएको छ ।

कांग्रेसले ५२ वडामध्ये २९ वडामा विजय प्राप्त गरेको छ भने माओवादी १४, एमालेले तीन, एकीकृत समाजवादी दुई, विपी कांग्रेस दुई र स्वतन्त्रले दुई वडा जितेका छन् । विसं २०७४ को निर्वाचनमा कांग्रेसले यहाँका १६ वडा मात्र जितेको थियो । अघिल्लो चुनावमा नेकपा (एमाले) ले २० वडा जितेको थियो भने माओवादीले १६ वडा जितेको थियो । अघिल्लो चुनावमा कांग्रेसले चार पालिकामा मात्र विजय भएको थियो ।

अघिल्लो चुनावमा अमरगढी नगरपालिकामा ५ वडा मात्रै जितेको कांग्रेसले अहिले प्रमुख उपप्रमुखसहित १० वडामा विजय हात पारेको छ । अघिल्लो चुनावमा अमरगढीका प्रमुख र उपप्रमुखसहित ६ वडाअध्यक्ष जितेको एमाले अहिले शून्यमा झरेको छ ।

त्यसैगरी अघिल्लो चुनावमा परशुराममा प्रमुख र उपप्रमुखसहित तीन वडा मात्रै जितेको कांगे्रसले अहिले सम्पन्न स्थानीय निर्वाचनमा पालिका प्रमुखसहित पाँच वडा जितेको छ ।

गन्यापधुरामा पनि पहिले कांग्रेसले तीन वडा र अध्यक्ष उपाध्यक्ष जितेको थियो तर अहिले एक वडा बाहेक पालिकाका सबै स्थानमा विजय हासिल गरेको छ । यो प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरको पालिका हो ।

अघिल्लो निर्वाचनमा नवदुर्गा गाउँपालिमा अध्यक्ष, उपाध्यक्षसहित दुई वडा मात्रै जितेको कांग्रेस अहिले अध्यक्ष उपाध्यक्षसहित थप दुई वडा जितेको छ र बाँकी तीन वडामा नेकपा (एकीकृति समाजवादी) ले दुई र माओवादीले एक वडामा जित हासिल गरेको छ ।

भागेश्वर गाउँपालिकामा अघिल्लो निर्वाचनमा अध्यक्ष उपाध्यक्ष मात्रै जितेको कांग्रेसले अहिले पालिकासहित चार वडामा जित हासिल गरेको छ । त्यसैगरी यसअघि भागेश्वरमा एमालेले चार र माओवादीले एक वडा जितेकामा अहिले चार वडामा नै कांग्रेसले जित हासिल गरेको छ । अर्काे एकमा स्वतन्त्र उम्मेदबार आएका छन् ।

स्थानीय निर्वाचनको मतगणना जारी रहेका बेला नागरिकहरुले प्रधानमन्त्री देउवाको जिल्ला डडेल्धुरा र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी ओलीको जिल्ला झापाको परिणामप्रति चासो राखिरहेका छन् । प्रधानमन्त्रीको जिल्लामा उहाँले नेतृत्व गरेको दल नेपाली कांग्रेसले राम्रो नतिजा प्राप्त गरिसकेको छ भने उता झापाबाट भने परिणाम आइरहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत