बिहिबार, जेष्ठ ८, २०८२

ओली र बाबुरामको गठबन्धनलाई हराउदै पालुङटारमा माओवादीको जित


कान्तिपथ


गोर्खाको पालुङटार नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ। २०७४ मा नेपाली कांग्रेसले विजय हासिल गरेको जसपा अध्यक्ष डा.बाबुराम भट्टराईको गृहनगरमा मेयर र उपमेयर दुबै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।

मतगणनाको अन्तिम परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तन ६ हजार ७२ मतका साथ विजयी भएका छन् । उनले जसपा–एमाले गठबन्धनबाट मेयरका उम्मेदवार प्रेम गुरुङ्गलाई ३ सय ५५ मतान्तरले पराजित गरेका हुन्।

चिन्तनले ६ हजार ७२ मत प्राप्त गरेका छन् भने जसपाका गुरुङ्गले ५ हजार ७ सय १७ मतमात्र प्राप्त गरेका छन् । नेपाली कांग्रसका दीपकबाबु कँडेल ४ हजार ९ सय ९७ मतका साथ तेस्रो स्थानमा सीमित भएका छन्।

यसपटकको निर्वाचनमा पालुङ्गटारमा नेपाली कांग्रेस र माओवादी केन्द्र एक्लाएक्लै प्रतिस्पर्धामा थिए भने जसपा–एमालेबीच गठबन्धन भएको थियो । गठबन्धनमा जसपाले मेयर र एमालेले उपमेयर पाएको थियो ।

२०७४ को निर्वाचनमा मेयरमा तेस्रो स्थानमा रहेको जसपा (तत्कालिन नयाँशक्ति) का उम्मेदवार अशोक देवकोटाले ३ हजार ९ सय ७६ र एमाले उम्मेदवार जुद्धविलाश भण्डारीले २ हजार ४ सय १० मत प्राप्त गरेका थिए । तर, त्यो बेला प्राप्त मतका आधारमा गरिएको गठबन्धनले यसपटक जसपा–एमालेलाई परिणाम दिन सकेन।

पालुङ्गटारको प्रमुखमा मात्र होइन, उपप्रमुखमा पनि माओवादी केन्द्रकी बन्दना पाण्डे विजयी भएकी छन् । पाण्डेले ५ हजार ५ सय ७९ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ प्राप्त गरेकी छन्।

जसपासँग गठबन्धन गरेको एमाले उम्मेदवार पार्वतीदेवी पाठक ४ हजार २ सय ८१ मतका साथ तेस्रो स्थानमा छिन्। गोर्खाका ११ स्थानीय तहमध्ये अब चुननुब्री गाउँपालिकाको परिणाम आउनमात्र बाँकी छ । यहाँपनि माओवादी केन्द्रका उम्मेदवार दुबै पदमा अग्रस्थानमा छन् । गणना सम्पन्न भएका १० मध्ये ८ पालिकामा माओवादी केन्द्रले प्रमुखमा विजय हासिल गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत