मङ्लबार, जेष्ठ ६, २०८२

‘नेपाल टी–२० लिग’ : नेपालको एकल लिग हुने


कान्तिपथ


नेपाल क्रिकेट संघ (क्यान) को आफ्नै आयोजनामा नेपाल टी–२० लिग क्रिकेट हुने भएको छ । आधिकारिक लिग प्रतियोगिता असोजमा हुने बुधबार घोषणा गरिएको हो । विगतमा निजी क्षेत्रबाट लिग हुँदै आए पनि अहिले नेपाली क्रिकेटको सर्वोच्च निकायले नै ट्वान्टी–२० लिग गर्ने निर्णय गरेको हो ।

पछिल्ला वर्षहरू एभरेस्ट प्रिमियर लिग प्रालिले काठमाडौंमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) तथा क्विन्स इभेन्टले पोखरामा पोखरा प्रिमियर लिग र धनगढी क्रिकेट एकेडेमीले धनगढीमा धनगढी प्रिमियर लिग आयोजना गर्दै आएका थिए ।

एभरेस्ट लिगले नोभेम्बर १२ देखि २६ मा ईपीएलको नयाँ मिति घोषणा गरिसकेको छ । सचिव मल्ल भन्छन्, ‘देशमा अब एउटै लिग हुन्छ, अरू कुनै लिग हुँदैन । क्यानले अरू कुनै लिगलाई मान्यता दिएको छैन ।’

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले असोज ८ देखि कात्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म प्रतियोगिता गरिने जानकारी गराएका छन् । घोषित मितिअनुसार २८ दिने प्रतियोगिताको बीचमा नेपालीको महान चाड दसैं पर्नेछ । उनका अनुसार ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । जहाँ होम एन्ड अवेका झल्को दिँदै प्रतियोगिता गरिने क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले बताए । अर्को वर्षदेखि ८ टोली पुर्‍याइने क्यानको लक्ष्य छ ।

‘नेपाल क्रिकेट निलम्बनमा भएका बेला विगतमा आईसीसीले विभिन्न लिग आयोजना गर्न दिएको र अहिले क्यान आएपछि देशमा अब एउटामात्र क्रिकेट लिग हुनेछ । आईसीसीले पनि एउटा देशमा एकमात्र लिग आयोजना गर्न दिन्छ,’ अध्यक्ष चन्दले नेपाल टी–२० लिग घोषणा गर्दै भने ।

प्रतियोगिताका लागि सन् २०२० को जनवरी ९ मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । तर, कोभिड–१९ कारण प्रतियोगिता हुन नसकेको चन्द बताउँछन् । उनका अनुसार सेभेन थ्री स्पोर्टस नेपाल ट्वान्टी–२० लिगको कमर्सियल एन्ड स्ट्रेजेटिक साझेदार हुनेछ । त्यसवापत सेभेन थ्रीले ८ वर्षको ३३ करोड रुपैयाँ शुल्क तिर्नेछ । त्यसअनुसार वार्षिक ४ करोड १२ लाख ५० हजार क्यानले पाउने छ । सेभेन थ्रीले त्यसबाहेक मैदानको स्तरोन्नति पनि गरिदिने चन्दले बताए ।

अक्सन र त्यसको मोडालिटीबारे हाल तय नभए पनि खेलाडीले नेपाल टी–२० लिग खेलेर पाउने पारिश्रमिक तय भइसकेको अध्यक्ष चन्दले सुनाए । त्यसअनुसार प्रतियोगिता खेल्ने नेपाली खेलाडीलाई समूह ‘ए’, ‘बी’ र ‘सी’ समूहमा वर्गीकरण गरिने छ ।

समूह ‘ए’ का खेलाडीले न्युनतम १५ लाख, समूह ‘बी’ का खेलाडीले न्युनतम १० र समूह ‘सी’ का खेलाडीले न्युनतम ५ लाख रुपैयाँ पाउने अध्यक्ष चन्द बताउँछन् । धनगढीमा सम्पन्न अघिल्लो साधारणसभामा नेपाल टी–२० लिग खेलेर न्युनतम ५ लाख पाउने घोषणा आफूले गरेको र त्यहीअनुरुप सेभेन थ्री स्पोर्टससँग खेलाडीको पारिश्रमिकका लागि वर्गीकरण गरिएको चन्दले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत