शुक्रबार, बैशाख ७, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • माल्भिकाको बारेमा ३ पूर्व मिस नेपाल, केकी र पूजाले पनि मुख खोले

माल्भिकाको बारेमा ३ पूर्व मिस नेपाल, केकी र पूजाले पनि मुख खोले


कान्तिपथ


केहि दिन टिकटकमा एक युवतीले आफू माथि यौन शोषण भएको भन्दै आफु माथि घटित घटनाको विवरण बाहिर ल्याएपछि सामाजिक सञ्जालमा तरङ्ग आइरहेको छ । धेरैले उनीप्रति सहानुभूति दर्साएका छन् र न्यायको माग गर्दै प्रधानमन्त्रि निवास बालुवातार अगाडी न्यायको लागि प्रदर्शन गरेका छन् । उता संसदमा कांग्रेसका नेता गगन थापाले यस बिषयमा कुरा उठाएर महिलाहरुको सुरक्षाको बिषयमा, बलात्कृतले १ वर्ष भित्र कानुनी मुद्दा दायर गर्नु पर्ने हद म्याद बारे पुन: विचार गर्न सरकार समक्ष आग्रह गरेका छन् ।

यसै प्रकरणमा ती युवतीले आफूले पूर्व मिस नेपाल तथा कोरिओगग्राफर माल्भिका सुब्बासँग सहायताका लागि अनुरोध गरेको तर माल्विकाले भने उक्त घटनासंग आफ्नो कुनै सरोकार नभएको भनि बेवास्ता गरेको आरोप लगाएकी थिइन् । यस विषयमा माल्भिकाले सामाजिक सञ्जालमार्फत ति युवतीसंग सो समय आफुले साथ दिन नसकेकोमा दुख प्रकट गर्दै लामो प्रष्टीकरण दिइसकेकी छन् ।

अहिले माल्भिकालाई गालीगलौज भइरहँदा तीन पूर्व मिस नेपालहरूले आफ्ना कुराहरु सामाजिक संजालमा पोस्ट गर्दै अगाडी आएका छन् । उनीहरूले माल्भिकाबाट कमजोरी भए पनि सबै दोष उनीमाथि थोपर्न नहुने बताएका छन् ।

साथै दुई नायिकाहरू केकी अधिकारी र पूजा शर्माले पनि पनि यो विषयमा सामाजिक संजाल मार्फत आफ्नु कुराहरु ब्यक्त गरेका छन् ।

श्रृङ्खला खतिवडा

उहाँ (माल्भिका) गलत हुनुहुन्थ्यो । उहाँ एक नारीवादी अभियन्ता भएकाले धेरै महिलाहरूको अधिकार र सुरक्षाको कुरा आउँछ, यो अर्को तहमा गलत थियो । तर, म एक जनामाथि दोष केन्द्रित गर्ने र दोषारोपण गर्ने प्रवृत्तिमा योगदान दिन चाहन्न ।

उहाँलाई अनफलो गर्नुहोस्, घृणा गर्नुहोस्, अपमान गर्नुहोस्, तर उहाँमाथि नै सबै दोष नथुपार्नुहोस् । सबै दोष उहाँमाथि लगाउनु उहाँको लागि अन्याय हो ।

यसले दुर्व्यवहार गर्नेलाई मात्र फाइदा हुन्छ । यसले समस्या समाधान गर्न कतै पनि मद्दत गर्दैन । यहाँ व्यक्तिको खराब नैतिक निर्णय भन्दा पीडितको समस्या ठूलो छ ।

यस केसमा पीडितले औँल्याएको मानिसदेखि लिएर धेरै व्यक्तिहरू थिए जसले त्यति बेला सही समयमा पीडितलाई यो दलदलबाट निकाल्न सक्थे । जस्तै उनको परिवार, साथी–सहकर्मी, मालिक, साझेदार र सल्लाहकार आदि । सबैले उनलाई मद्दत गर्न सक्थे ।

जेनिशा मोक्तान (मिस नेपाल २००९)

हामी त्यस चिजबाट नै निराश हुन्छौं जसबाट हामीले उच्च अपेक्षा राखेका हुन्छौं । तपाई (माल्भिका)ले सधैँ आफ्नो स्ट्यान्डर्ड सेट गर्नुभएको छ, त्यसैले तपाईँबाट सबैको अपेक्षा उच्च छ । आफूले आफूलाई कमजोर नबनाउनु दिदी । तपाईँले अनगिन्ती महिलाहरूलाई सशक्त बनाउनुभएको छ, समर्थन गर्नुभएको छ । र तपाईँलाई तल झार्नु कुनै अर्को महिलालाई समर्थन गर्ने तरिका होइन । धेरै माया ।

सीताश्मा चन्द (मिस नेपाल २००७)

मलाई लाग्दैन कि उनले पोस्टमा उल्लेख गरेको र उनले भोगेका सबै कुराको लागि तपाईँ जिम्मेवार हुनुहुन्छ ।

तर यो सत्य हो कि तपाईँ उनले भोगेको पीडाहरूमा र उनको यात्रामा एउटा अभिन्न हिस्सा बन्न सक्नुहुन्थ्यो ।
दुर्भाग्यवश तपाईँ हुन सक्नुभएन । तपाईँले स्पष्ट रूपमा आफ्नो अफसोस व्यक्त गर्नुभएको छ ।

हामी सबैले कहीँ न कतै गल्ती गरेका छौँ । जिम्मेवारी स्वीकार गर्ने, माफी माग्ने र सकेसम्म यसलाई ठिक गर्न प्रयास गरौँ । तपाईँले दशकौँदेखि कति मानिसहरूलाई प्रेरित, उत्प्रेरित र मद्दत गर्नुभएको छ, त्यो हामी बिर्सन सक्दैनौँ । एउटा गल्तीले तपाईँले गर्नुभएका र हासिल गर्नुभएका अरू सबै कुरालाई ढाक्न सक्दैन र ढाक्नु पनि हुँदैन । तपाईँलाई शक्ति मिलोस् ।

पूजा शर्मा

हे भगवान् । यो एक जना पीडितमाथि मात्र हुने शारीरिक हिंसा होइन, यो सम्पूर्ण मानवतामाथिको आक्रमण हो । उनी बलियो छिन् किनकि उनले आफूमाथि भएको दुर्व्यवहारलाई निडर भएर पोखिन् ।

म देख्न सक्छु कि उनी डरको बाबजुद पनि कडा रूपमा प्रस्तुत भइन् । तिमी पाइला चाल । हामी तिम्रो साथमा छौँ । उसको तुच्छ कामलाई सबैमाझ देखाउनै पर्छ ।

केकी अधिकारी

महिला संयन्त्र, पुलिस, अदालत, खबरदार । काम सुरु गर । किशोरीले हिम्मतका साथ सार्वजनिक गरेको बलात्कार र यौन शोषणका घटनामा राज्यको सरोकारवाला हरेक अंगहरु जबाफदेही हुनु पर्छ ।

वर्चस्वशाली व्यक्तिले किशोरीहरूमाथि गरेको जघन्य अपराधको छानबिन गर्ने र न्याय दिलाउने उचित संरचना बनाउनु पर्छ ।

सम्पूर्ण चेतनशील र संवेदनशीलहरू पीडितलाई न्यायपूर्ण सहज जीवनका लागि सहयात्री बन्दा मात्र यो काम हुनसक्छ ।

हुन त, यो व्यवस्थाले दिने न्यायमा, पूर्ण भरोसा छैन, तर पनि अहिले भएकै संरचनाबाट न्यायको माग गर्ने तत्कालका लागि सही विकल्प हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत