मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको कार्यपालिका सदस्य निर्विरोध चयन भएका छन् । महिलाको चार र दलित तथा अल्पसङ्ख्यक सदस्यको दुई पदका लागि आवश्यक सङ्ख्यामा मात्र एकल उम्मेदवारी दर्ता भएकाले निर्विरोध भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वारागुङ मुक्तिक्षेत्रको छवटै पदमा एमालेका, लोघेकर–दामोदरकुण्डको पाँच पदमा एमाले र एक पदमा कांग्रेसका उम्मेदवारको एकल उम्मेदवारी परेको हो ।
वारागुङ मुक्तिक्षेत्रको कार्यपालिका सदस्यमा महिलातर्फ कुन्जाङमो गुरुङ, माया गुरुङ, ल्हाक्चोम गुरुङ र मनकुमारी कामी, दलित वा अल्पसङ्ख्यकतर्फ मुनु दमाई र ल्हम्ङे गुरुङ निर्विरोध भएका निर्वाचन अधिकृत सारदादेवी पौडेलले बताउनुभयो । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा वारागुङ मुक्तिक्षेत्रको अध्यक्ष–उपाध्यक्ष, तीन वडाको अध्यक्ष एमालेले र दुईवटा वडामा कांग्रेसले जितेका थिए ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले पाँच जना एमालेका र एक कांग्रेसका उम्मेदवार कार्यपालिका सदस्यमा निर्विरोध भएका जानकारी दिनुभयो । एमालेका कर्मकेसोम गुरुङ, कृष्णप्रसाद विश्वकर्मा, छिरिङ विटीक गुरुङ, जिक्मी वाङ्दी विष्ट, पासाङभुटी गुरुङ र कांग्रेसका कचाङछुटेन गुरुङ कार्यपालिका सदस्य पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रानाभाटले बताउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ