सोमवार, कार्तिक २४, २०८२

भीमदत्त र पुनर्वासमा कांग्रेस निर्वाचित


कान्तिपथ


कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले १५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पधी नेकपा (एमाले)का उम्मेदवार महेशप्रसाद पन्तले आठ हजार १४१ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गजेन्द्रबहादुर चन्दले सात हजार १०५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो ।

नवनिर्वाचित बोगटी कांग्रेसका जिल्ला पार्टी सभापतिसमेत हुनुहुन्छ । उहाँ अघिल्लो स्थानीय तहको निर्वाचनमा भीमदत्तमा एमालेका सुरेन्द्र विष्टसित झिनो मतान्तरले पराजित हुुनुभएको थियो । त्यसैगरी उपप्रमुखमा कांग्रेसकै निलम जोशी लेखक १२ हजार २१६ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार कृष्णदत्त जोशीले १० हजार ५९६ मत प्राप्त गर्नुभएको छ । १९ वडा रहेको भीमदत्तमा कांग्रेसले १३ वडाध्यक्षसमेत जितेको छ ।

पुनर्वासमा कांग्रेस विजयी

त्यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिकामा कांग्रेसका उम्मेदवार नगरप्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् । नगरप्रमुखमा तोयप्रसाद शर्माले १० हजार ६०० र उपप्रमुखमा भुलिया रानाले सात हजार ३४५ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो नगरप्रमुखमा एमालेका पदम पुजाराले चार हजार ६७४ र एकीकृत समाजवादीका उम्मेदवार जीवनराज थापाले तीन हजार ७३४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा माओवादी केन्द्रका धोखे रानाले पाँच हजार ४९२ र एमालेका सुशीला खत्रीले पाँच हजार ३०३ मत ल्याएका छन् । अघिल्लो पटक पुनर्वासमा एमालेका उम्मेदवार जीवनराज थापा निर्वाचित हुनुभएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत