नेपाल प्रहरीको जनपदतर्फ प्रहरी निरीक्षकमा सिधै भर्ना हुने पहिलो महिला हुन् पूजा सिंह। २०४९ साल चैत ११ गते २९ जना प्रहरी निरीक्षक भर्ना हुँदा २८ जना पुरुष थिए। यो ब्याचबाट धीरजप्रताप सिंह प्रहरी महानिरीक्षकमा बढुवा भइसकेका छन्। बाँकी ८ मध्ये ७ एआईजी पुरुष नै छन्। पूजासिंह जनपदतर्फकी पहिलो महिला एआईजी हुन्। प्राविधिकतर्फ भने डा. आशा सिंह र दुर्गा थापा यसअघिबाटै कार्यरत छन्। प्राविधिक तर्फ प्रहरी अस्पतालमा पहिलो महिला एआईजी भने डा. दुर्गा थापा हुन्।
सोमबार बढुवा समितिले वरीयता कायम गर्दै सिंहसहित ५ डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। सिफारिसमा उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन्। उनीहरुको बढुवाविरुद्ध उजुरी पर्ने संभावना पनि कम छ। बाँकी रहेका तीन जना डीआईजी उनीहरुभन्दा जुनियर हुन्।
गत शुक्रबार वसन्तकुमार लामा एआईजीमा बढुवा भएपनि उनी शनिबारदेखि नै अनिवार्य अवकाशमा गएपछि रिक्त एआईजीको संख्या ५ पुगेको थियो। नेपाल प्रहरीमा जनपदतर्फ ८ एआईजीको दरबन्दी छ। विश्वराज पोख्रेल, सहकुल थापा र रवीन्द्र धानुक कार्यरत छन्। प्राविधिकतर्फ रहेको एउटा दरबन्दीमा आशा सिंह कार्यरत छन्।
हाल बढुवा सिफारिस भएका एआईजीहरु पनि आईजीपी सिंहसँगै आगामी चैत ११ गतेबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ