पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ। दुई वटा वडामा पुनः मतगणना सुरु नहुँदासम्म बाँकी मतगणनामा नबस्ने अडान नेकपा एमालेले लिएपछि गणना रोकिएको हो। मुचुल्कामा उल्लेख भएको भन्दा मतपेटिकामा भएको मतपत्र कम भएको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुनः गणनाका लागि निवेदन बुझाएको छ।
महानगरका वडा १८ र ३१ वडाको पुनः मतगणना गर्नुपर्ने माग गर्दै एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले निवेदन दिएका छन्। दुवै वडाको अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भइसकेका छन्।
वडा नम्बर ३१ एमाले नेता, पूर्वगृहमन्त्री तथा संगठन विभाग प्रमुख खगराज अधिकारीको गृह वडा हो । पार्टीको संगठन विभागका प्रमुखको वडा हार्नु भनेको धाँधली बाहेक अरु केही हुन नसक्ने एमालेले बताएको छ ।
वडा नम्बर १८ मा ४ हजार ३४८ मत खसेकोमा मतगणनाका क्रममा ९ मत कम अर्थात् ४ हजार ३३९ वटा मतपत्र भेटिएको थियो। कांग्रेसका शिवप्रसाद तिमिल्सिनाले ३ मतले मात्रै एमाले उम्मेदवारलाई पराजित गरेका छन्। तिमिल्सिनाले १ हजार ६४३ मत ल्याउँदा एमालेका पुष्कलबहादुर थापाले १ हजार ६४० मत पाएका थिए।
पोखरा–३१ मा पनि ४ हजार ४८१ मत खसेकोमा मतपेटिकामा ३ मत कम भेटिएको थियो। त्यहाँ कांग्रेस उम्मेदवारले १६१ मतान्तरले एमाले उम्मेदवारलाई हराएका छन्। कांग्रेसका ढकनाथ कँडेलले १ हजार ८९८ मत ल्याउँदा एमालेका चिरञ्जीवी बञ्जराले १ हजार ७३७ मत पाएका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ