उद्योगी व्यवसायी तथा नेपाली कांग्रेस सांसद विनोद चौधरीले आइतबार र शनिबार दुई दिन बिदा दिने सरकारको निर्णय व्यावहारिक नरहेको बताएका छन् ।
मंगलबार संघीय संसद अन्तर्गतको अर्थ समितिमा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन् । ‘नेपालमा श्रमको लागत बढी (लेबर कस्ट हाई) छ । उत्पादन कम छ । वर्षमा १६५ दिन बिदा पुग्न लागिसक्यो’, चौधरीले भने, ‘बरु जोरबिजोर लागू गर्न सकिन्छ । तर दुई दिन छुट्टी प्रत्युत्पादक (काउन्टर प्रोडक्टिभ) हुन्छ ।’
एकातिर सरकारको सेवा प्रवाह प्रणाली कमजोर हुने र अर्कोतिर काम गर्ने दिन र समय घटाइनुले उत्पादन घटाउने चौधरीको भनाइ छ । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि दुई दिन बिदा दिने व्यवस्था प्रत्युत्पादक हुने बताए । ‘यो व्यवस्था निजी क्षेत्रका लागि अझ बढी घात छ । विकासशील देशले झन् बढी पो काम गर्नु पर्छ । बिदा बढाएर अल्छी हुने होइन’, पाण्डेले भने ।
सरकारले इन्धनको खपत घटाउन भन्दै सातामा दुई दिन आइतबार र शनिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । यसले खासगरी अस्पताल, विद्यालय लगायत क्षेत्रमा नकारात्मक असर पार्ने भन्दै विज्ञहरुले सच्याउनुपर्ने बताउँदै आएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ