शुक्रबार, जेष्ठ ३, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ

पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ


कान्तिपथ



कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ ।

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि सुरु भएको मतगणनाको आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पराजित गर्नुभएको हो । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रत्यासी थापाले ५२ हजार ८४८ मत ल्याउनुभयो ।

यसैगरी प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ६७४, स्वतन्त्रका खडकराज पौडेलले तीन हजार ३०, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमप्रसाद गुरुङले ५४६ र विवेकशील साझाका सुशीला केसीले ३३८ मत प्राप्त गर्नुभयो । पोखराको प्रमुखमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० उम्मेदवार चुनावी मैदानमा उत्रिनुभएको थियो ।

यसैगरी उपप्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै एमालेकी गुरुङ दोस्रो कार्यकालका लागि विजयी हुनुभयो । गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रत्यासी रानाभाटले ५६ हजार ६६३ मत ल्याउनुभयो ।

उपप्रमुखमा राप्रपाका रञ्जनाकुमारी सेन पौडेलले पाँच हजार ६९९, विवेकशील साझाका माधव भण्डारीले २६४ र आमुल परिवर्तन मसिया पार्टीका पदमबहादुर गुरुङले १३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो ।

पोखरा महानगरका ३३ वडामध्ये कांग्रेसले २३, एमालेले नौ र वडा नं २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी हुनुभएको छ । विसं २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित २२ वडामा एमाले विजयी बनेको थियो ।

विद्यार्थी राजनीति हुँदै महानगरको प्रमुखसम्म धनराज

पोखरा महानगरपालिका–३३ भरतपोखरीको गैरागाउँमा बुवा ऋतुनाथ आचार्य र आमा जमुनादेवी आचार्यको कोखबाट २०२६ चैत १७ गते जन्मिनुभएका धनराज आचार्य नेकपा (एकीकृत समाजवादी)को कास्की अध्यक्षका साथै केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । विसं २०३९ मा १३ वर्षको उमेरमा भरतपोखरीमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्यतासँगै उहाँले विद्यार्थी राजनीति सुरु गर्नुभएको थियो ।

विद्यालयबाट आरम्भ भएको उहाँको विद्यार्थी राजनीतिले क्याम्पस तहमा पुगेपछि थप गति लियो । देशकै ठूलो र प्रतिष्ठित मानिने पोखराको पृथ्वीनारायण क्याम्पसमा उहाँ अनेरास्ववियुको प्रारम्भिक कमिटीमार्फत सक्रिय बन्नुभयो । एमालेसम्वद्ध विद्यार्थी सङ्गठनमा २०४४ सालमा आवद्ध भएपश्चात उहाँले अनेरास्ववियुको विभिन्न जिम्मेवारी सम्हाल्नुभएको थियो । विसं २०४५ मा अनेरास्ववियुको कास्की जिल्ला सदस्य रहनुभएका आचार्य त्यसपछि सङ्गठनको सचिव र अध्यक्षका रूपमा सक्रिय बन्नुभयो । विसं २०४८ मा अनेरास्ववियुको गण्डकी अध्यक्ष बन्नुभएका उहाँ २०४९ मा सो सङ्गठनको केन्द्रीय सदस्य बन्नुभयो ।

पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनमा विभिन्न पदमा निर्वाचित भई जिम्मेवारी सम्हाल्नुभएका उहाँ २०४९ सालमा पृथ्वीनारायण क्याम्पस स्ववियुको कोषाध्यक्ष बन्नुभयो भने २०५१ मा स्ववियुको सभापति निर्वाचित हुनुभयो । विसं २०५१ देखि २०५३ सम्म स्ववियु काउन्सिलको महासचिव बन्नुभएका आचार्यले अनेरास्ववियुमा २०५० देखि २०५४ सम्म पश्चिमाञ्चल प्रमुख र २०५४ देखि २०५८ सम्म केन्द्रीय सचिवालय सदस्य बनेर विभागीय प्रमुखको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

विद्यार्थी राजनीतिमा जस्तै पार्टी जीवनमा पनि उहाँ कलिलै उमेरमा लाग्नुभएको थियो । चौध वर्षको उमेरमा नै उहाँ तत्कालीन नेकपा (माले)को युवा लिगमा आवद्ध हुनुहुन्थ्यो । विसं २०४५ मा राष्ट्रिय पञ्चायतका सदस्य प्रत्याह्वानविरुद्धको आन्दोलनमा घाइते र गिरफ्तार आचार्य दुई वर्ष निरन्तर जेलका राजबन्दी र पार्टीबीचको सम्पर्क सूत्रको जिम्मेवारीमा रहनुभयो । उहाँले विसं २०४७ मा मालेको सङ्गठित सदस्यता प्राप्त गर्नुभएको थियो । तत्पश्चात उहाँले २०४६ सालदेखि पाँच वर्षसम्म पार्टी विद्यार्थी इलाका कमिटीमा सदस्य र सचिवको जिम्मेवारी निर्वाह गर्नुभयो ।

नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्यका रूपमा २०५२ सालमा जिम्मेवारीमा रहनुभएका नेता आचार्य २०५४ मा पार्टी विभाजनका बेला नेकपा (माले)मा आवद्ध हुनुभयो । विसं २०५४ मा मालेको कास्की जिल्ला कमिटीको सचिवालय सदस्य रहनुभयो । पार्टीको विद्यार्थी सङ्गठनबाट राजनीतिक यात्रा सुरु गर्नुभएका आचार्यले व्यावसायिक सङ्गठनहरूको नेतृत्वमा रहेर पनि कार्य गर्नुभयो । विसं २०६० मा एमाले कास्कीको उद्योग व्यवसाय विभाग प्रमुख रहनुभएका उहाँ २०६४ देखि पाँच वर्षसम्म फ्रयाक्सन सचिवका रूपमा रहनुभयो ।

त्यसैगरी विसं २०६९ देखि २०७६ सम्म नेपाल उद्योग व्यवसायी महासङ्घको स्थायी कमिटी सदस्य र २०७१ देखि चार वर्षसम्म एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य बन्नुभयो । विसं २०७५ देखि २०७८ सम्म नेकपाको उद्योग तथा व्यवसाय विभाग सदस्य रहनुभएका आचार्य पार्टीमा आन्तरिक विवादसँगै अगाडि बढेका समानान्तर गतिविधिमा सामेल हुनुभयो । एमालेभित्र कास्कीमा समानान्तर गतिविधि अगाडि बढाउन उहाँले नेतृत्व लिनुभयो ।

विसं २०७८ मा एमाले जिल्ला कमिटी कास्कीको सामानान्तर अध्यक्ष बन्नुभयो । एमालेभित्र नेता माधवकुमार नेपालले थालेको समानान्तर गतिविधिमा सामेल उहाँ पार्टी विभाजनसँगै स्थापना भएको नेकपा (एकीकृत समाजवादी)को जिल्ला नेतृत्वमा रहनुभएको छ ।

राजनीतिबाहेक उहाँ विभिन्न व्यावसायिक र सामाजिक संस्थामा पनि अध्यक्ष, सञ्चालक र प्रमोटरका रूपमा आवद्ध रहँदै आउनुभएको छ । उहाँको पाठ्यपुस्तक प्रकाशन गृह, शैक्षिक सामग्री उद्योग, स्कुल–कलेज सञ्चालन, रासायनिक मल उद्योग र हाइड्रोपावरजस्ता व्यावसायिक क्षेत्रमा संलग्नता छ । त्यसैगरी कृषि, पर्यटन, बैंकिङ र हस्पिटालिटीलगायत दुई दर्जन व्यासायिक प्रतिष्ठानमा आचार्य संग्लन हुनुहुन्छ ।

नेपाल पुस्तक तथा व्यवसायी महासङ्घको महासचिव र राष्ट्रिय अध्यक्ष, पोखरा उद्योग वाणिज्य सङ्घको कार्यकारी सदस्य, उच्चस्तरीय पुस्तक नीति मस्यौदा समितिको विज्ञ सदस्य र पाठ्यपुस्तक मूल्य निर्धारण समितिमा विज्ञ सदस्यका रूपमा उहाँले कार्य गरिसक्नुभएको छ ।

पोखरा महानगरको शिक्षा विज्ञ, लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बी–१ को क्याबिनेट सेक्रेटरी र गभर्नर रहनुभएका उहाँ स्व रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान पोखराको महासचिव हुनुहुन्छ । पढाऔँ अभियान नेपालका सूत्रधार उहाँले अर्थतन्त्र, शिक्षा प्रणाली तथा नीतिका सन्दर्भमा दर्जनौँ कार्यपत्र प्रस्तुत गर्नुभएको छ । विभिन्न तालिम र अध्ययनका सिलसिलामा आचार्यले विश्वका ४५ देशको भ्रमण गरिसक्नुभएको छ । भरतपोखरीको शान्ति उदय मावि हुँदै शैक्षिक यात्रा सुरु गर्नुभएका उहाँले एमबीए र एमएडसम्मको अध्ययन गर्नुभएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत