बुधबार, बैशाख ३०, २०८३

देशका सबै महानगरपालिकाबाट बढारियो एमाले


कान्तिपथ


२०७४ सालको स्थानीय तहको निर्वाचनमा देशका ६ महानगरमध्ये २ वटामा एमालेले जितेको थियो । काँग्रेसले २, माओवादी केन्द्रले १ र तत्कालीन संघीय समाजवादी फोरमले १ स्थानमा जित हात पारेका थिए । काँग्रेसले यसअघि जित हात पारेको ललितपुर र विराटनगर महानगर सुरक्षित गरेको छ । उता वीरगञ्जमा यसअघिको संघीय समाजवादी फोरम र हालको जसपाले पनि आफ्नो सिट जोगाउन सफल भएको छ ।

यस्तै माओवादी केन्द्रले भरतपुर महानगरपालिका पनि जोगाउन सफल भएको छ । एमालेले जितेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले र पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन्। उनले एमालेका उम्मेदवार कृष्णबहादुर थापाभन्दा ६ हजार ४५ मत बढी ल्याएर जीत हासिल गरेका छन् । आचार्यले ५८ हजार ८९३ मत ल्याउँदा थापाले ५२ हजार ८४८ मत पाएका छन् ।

काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५० हजार ३३९ मत पाएका छन् । मतगणना चलिरहँदा उनले झन्डै २० हजारको मतान्तर कायम गरेका छन् ।

विराटनगर महानगरपालिका प्रमुखमा नेपाली काँग्रेसका नागेश कोइराला ३० हजार १७० मत पाएर विजयी भएका छन् । उनी ८ हजार ७१५ मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत पाएका छन् ।

ललितपुर महानगर प्रमुखका लागि काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जन फराकिलो मतान्तरले जीत हासिल गरेका छन् । उनले ४२ हजार ७२२ मत पाउँदा एमालेका उम्मेदवार भन्दा १८ हजार १६२ मतान्तरले विजयी बने । उनका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५ सय ६० मत पाएका छन् ।

भरतपुर महानगरपालिका प्रमुखमा रेनु दाहाल विजयी भएकी छन् । उनले ५२ हजार ३० मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत पाए । रेनुले १२ हजार ४४९ मतान्तरमा जित हासिल गरेकी हुन् ।

वीरगञ्ज महानगरपालिका प्रमुखमा जनता समाजवादी पार्टीका राजेशमान सिंह भारी मतान्तरसहित विजयी भएका छन् । सिंहले ४६ हजार २१५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय कुमार सरावगी २३ हजार ६७१ मतमा रोकिए । महानगर प्रमुखमा सिंह २२ हजार ५५५ मतान्तरले विजयी भए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत