आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • पुरस्कार कै धज्जी: बुथ कब्जा र गोली रोक्न नसक्ने डिएसपीलाई शान्तिपूर्ण चुनाव गराएको तक्मा !

पुरस्कार कै धज्जी: बुथ कब्जा र गोली रोक्न नसक्ने डिएसपीलाई शान्तिपूर्ण चुनाव गराएको तक्मा !


कान्तिपथ


बागमती प्रदेश प्रहरी कार्यालयले १० जिल्लाका प्रहरी प्रमुखहरुलाइ पुरस्कृत गरेको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटिरहित तवरले सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश कार्यालय हेटौंडाले आज नगदसहित रेकर्डमा जनिने गरी पुरस्कृत गरेको हो ।

प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत हुनेमा चितवन जिल्लाका प्रहरी प्रमुख नवराज अधिकारी सहित मकवानपुरका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङ, सिन्धुपाल्चोक प्रहरी प्रमुख रामेश्वर प्रसाद यादव, सिन्धुलीका प्रहरी प्रमुख विमलराज कँडेल, नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाह, धादिङका प्रहरी प्रमुख राकेश सिंह र काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशी रहेका छन् ।

रसुवाका प्रहरी प्रमुख कुलदीप चन्द, रामेछापका प्रहरी प्रमुख राजकुमार थिङ र दोलाखाका प्रहरी प्रमुख गंगाप्रसाद पौडेललाई पनि जनही एक हजार पाँच सय रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ । अन्य जिल्लाका प्रहरी प्रमुख पुरष्कृत हुने कुरा सामान्य मान्न सकिए पनि दोलखाका प्रहरी प्रमुख गंगाप्रसाद पौडेल पनि पुरष्कृत भएको देख्दा स्थानीयहरु चकित परेका छन् ।

दोलखा देशभर अशान्त निर्वाचन र बुथ कब्जाका कारण चिनिने गर्छ। हालै सम्पन्न स्थानीय निर्वाचनमा दोलखा विभिन्न पालिकाका धेरै वडामा नागरिकलाई शान्तिपूर्ण ढंगले मतदान गर्न नदिएर बुथ कब्जाका हर्कत भए । दोलखाको बैतेश्वर गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसले सदाबहार रुपमा बुथ कब्जा गर्दै आएको छ ।

यसपटक कांग्रेसको तर्फबाट वडा नं १ मा भिम बहादुर तामाङ्ग १९१९ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिष्पर्धी राप्रपा, माओवादी र एमालेले क्रमश ६१, ७ र ६ भोट ल्याएका छन् । कांग्रेसलले त्यहाँ गुण्डा परिचालन गरेर एकलौटी भोट खसाएको थियो । पालिका अध्यक्षमा पनि एमाले र माओवादीका उम्मेदवारले उक्त वडामा दोहोरो अंक कटाउन सकेका छैनन् ।

आफुहरु स्वतन्त्र रुपमा मतदान गर्न नपाउने अनि जिल्ला प्रहरी प्रमुख भने निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटिरहित तवरले सम्पन्न गराएको भन्दै माला थाप्न गएको भन्दै गैरीमुदीका स्थानीय जनताले आक्रोश पोखेका छन् । दोलखाको मिर्गे लगायत अनन्य केहि स्थानमा पनि शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न भएको थिएन ।

डिएसपी पौडेललाइ प्रदेश कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) पूजा सिंहले पुरस्कृत गरेकी हुन् । फिल्डको रिपोर्ट नबुझी मनमौजी ढंगले पुरस्कार वितरण गर्दा प्रदेश प्रहरीको सूचना प्रणाली कति कमजोर रहेछ भन्ने उदांगो भएको छ ।

पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा मतदान सुरू भएलगत्तै दुई पक्षबीच झडप भएपछि हाल मतदान रोकिएको थियो । ढुंगा प्रहार गर्दै बुथ नै कब्जा गर्ने प्रयास भएपछि प्रहरीले हवाई फायरसमेत गरेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत