प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति र एआईजीको बढुवासम्बन्धी परेको रिटमाथिको सुनुवाई जेठ ३० गते हुने भएको छ । आजका लागि सुनुवाइको मिति तोकिएपनि विपक्षीका नाममा म्याद तामेल हुन नसक्दा पूर्ण सुनुवाइ हुन सकेको थिएन ।
नियमित पेसी अन्तर्गत जेठ १७ गते न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडालको संयुक्त इजलासमा परेको रिट निवेदनमा पुनः ७ दिनको समय दिएर म्याद तामेल गर्ने आदेश दिइएको छ ।
डीआईजीहरु घनश्याम अर्याल र प्रकाशजंग कार्कीले एआइजी बढुवाको विरुद्धमा गत चैत १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । पोखरेलले आफू वरिष्ठ एआइजी हुँदाहुँदै धिरजप्रताप सिंहलाई आइजीपीमा नियुक्ति गरेको भन्दै उक्त निर्णय बदर गरी आफूलाई आईजीपीमा नियुक्ति दिलाउन परमादेशको समेत माग गरेर रिट दायर गरेका थिए ।
सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयले आफूलाई अन्याय भएको दाबी गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा यसअघि वैशाख २२ गते न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम जारी गर्न अस्वीकार गरेको थियो। सोही इजलासले मुद्दाको अन्तिम सुनुवाइ मंगलबार (जेठ १७ गतेबाट) गर्ने आदेशसमेत सुनाएको थियो।
३ जना डीआईजीले दायर गरेको रिटमा विपक्षी बनाइएका बसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकको हकमा म्याद तामेल हुन नसकेको सर्वोच्चको आदेशमा उल्लेख छ। प्रत्यर्थी मध्येका पन्त कैलालीमा रहेको र अन्य प्रत्यर्थीहरुलाई म्याद बुझाउन नसकिएको भन्ने प्रतिवेदनबाट देखिन आएको भन्दै सर्वोच्चले आदेश गरेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ