बिहिबार, जेष्ठ ८, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • नेविसंघले त्रिविमा ५ महिनादेखि लगाएको ताला नेकपा (क्रान्तिकारी) ले तोड्यो

नेविसंघले त्रिविमा ५ महिनादेखि लगाएको ताला नेकपा (क्रान्तिकारी) ले तोड्यो


कान्तिपथ


सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले झण्डै डेढ सय दिनदेखि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा गरेको तालाबन्दी बुधबार नेपाल कम्प्युनिस्ट पार्टी (क्रान्तिकारी) का कार्यकर्ताले तोडेका छन् ।

बुधबार मोटरसाइकलमा आएका १५/२० जनाको समूहले उपकुलपति, रजिष्ट्रार र रेक्टरको कार्यकक्षको ढोकामा लगाइएको ताला फुटाएर गएको एक प्रत्यक्षदर्शी कर्मचारीले बताए ।

‘बोल्दै नबोली आए, तालाहरु फुटाएर गए, उनीहरुले प्रेस विज्ञप्ति पनि छाडेर गएका छन्,’ उनले भने । विज्ञप्तिमा विश्वविद्यालयका समस्या वार्ता सम्वादको माध्यमबाट समाधान गर्न आग्रह गरिएको छ ।

साथै तालाबन्दी लगायत गतिविधि विश्वविद्यालयमा नगर्न पनि भनिएको छ । ‘मध्य केन्द्रीय कमाण्ड’ का इन्चार्ज सफलको नाममा जारी विज्ञप्तिमा ‘विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउन ताला लगाउने कार्य कोही कसैले गरेमा कडा रुपमा जुनसुकै परिस्थितिको सामाना गर्न पनि पार्टी तयार रहेको कुरा जानकारी गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ ।

नेविसंघका कार्यकर्ताले केही गलत स्वार्थ र मनासय राखेर तालाबन्दी गरेको पनि विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री स्वयं विश्वविद्यालयको कुलपति हुँदा महिनौदेखि ताला लगाइनु, उपकुलपतिबाट समस्या समाधान गर्न कुनै चासो नदिएकोमा क्रान्तिकारीले आपत्ति जनाएको छ ।

‘२१ औं शताब्दीमा बन्द हड्ताल भन्दा पनि सम्वादबाटै समस्याको हल खोजिनुपर्छ, जिम्मेवार पक्षलाई ताला खोल्न आग्रह गर्दा कसैको पनि ध्यान नपुगेपछि हामी ताला खोल्ने पक्षमा पुगेका छौं,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमार्फत् विश्वविद्यालयमा तालाबन्दी हुन नदिने वातारण मिलाउन पनि सरकारसँग माग गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत