बुधबार, असार १५, २०७९
  • गृहपृष्‍ठ
  • प्रशासन
  • बर्दिया घटनाबारे संसद्‌मा गृहमन्त्रीले भने- गोली प्रहार गर्ने त आदेशै छैन

बर्दिया घटनाबारे संसद्‌मा गृहमन्त्रीले भने- गोली प्रहार गर्ने त आदेशै छैन


कान्तिपथ


गृहमन्त्री बालकृष्ण खाँणले नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउने सरकारको आदेश नभएको बताएका छन् । बर्दियाको मधुवन-२ मा सोमबार प्रहरीको गोली प्रहारबाट एक युवतीको मृत्यु भएको थियो ।

सोही विषयमा प्रतिनिधसभाको मंगलबारको बैठकमा गृहमन्त्री खाँणले भने, ‘प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको उहाँको धारणा छ । नागरिकहरूको यस्तो अवरोध, भीडमा गोली चलाउने आदेश छँदै छैन । म यो रोस्ट्रमबाट भन्न चाहन्छु नेपाल सरकार गृह मन्त्रालयको निर्देशन सम्झाइबुझाइ गर्ने; बरु सर्वपक्षीय सर्वदलीय बैठक गरेर समस्या समाधान गर्ने र कमभन्दा कम शक्ति प्रयोग गर्ने भन्ने हो । गोली प्रहार गर्ने त आदेशै छैन ।’

बर्दियामा कसरी गोली चल्यो र एक जनाको मृत्यु भयो भन्नेबारे छानबिन गर्नका लागि गृहले छानबिन समिति गठन गरेको मन्त्री खाँणले संसद्लाई जानकारी दिए । खाँणले गृहका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको र समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप-महानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक विकास पाण्डे र गृहका उपसचिव ध्रुव खड्का सदस्य रहेको जानकारी दिए ।

समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत अध्ययनसहित छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको उनले बताए । उनले भने, ‘कुन अवस्थामा गोली चल्यो र गोली चलाउने आदेश कसले दियो भन्ने यथार्थ सत्यतथ्य विवरणपछि आवश्यक कारबाही हुनेछ ।’

बर्दियाको मधुवन क्षेत्रमा बाघको आक्रमणबाट निरन्तर मानवीय क्षति भएको तर सरकार वन्यजन्तु पीडितप्रति उदासीन भएको, वनका अधिकारी घटनास्थल नपुगेको भन्दै आक्रोशित सोमबार गुलरिया-राजापुर सडकखण्ड बन्द गरिएको थियो ।

स्थानीयले उक्त सडकखण्डमा चक्काजाम गरेपछि सुरक्षाकर्मीसँग झडप भएको थियो । झडप भएपछि प्रहरीले गोली चलाउँदा नविना थारूको मृत्यु भएको थियो । सोही घटनाको विषयमा संसद्‌मा गृहमन्त्रीको प्रस्टीकरण माग गरिएको थियो । गृहमन्त्री खाँणले वन्यजस्तु आक्रमणबाट मानिसलाई जोगाउनका लागि दीर्घकालीन नीति तय गरी काम गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत