प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका पाँचजना प्रहरी अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढुवा सिफारिसमा परेका पाँचैजनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।
सरकारले निर्णय गरेपछि बुधबार प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका उत्तमराज सुवेदी, अरुण कुमार बि.सी., दिवेश लोहनी, मुकुन्द राज आचार्य र पुजा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले प्रदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरु तथा उनीहरुका परिवारलाई बधाई दिँदै नेतृत्वमा आइसकेपछि प्राथमिकता छुट्टाएर नवीन कार्ययोजनाका साथ अगाडि बढन निर्देशन दिए।
प्रहरी संगठनमा वरियता र कार्यक्षमता लगायतका विभागीय मापदण्ड अनुसार निष्पक्षरुपमा पदोन्नति हुने उल्लेख गर्दै उनले प्रहरी कार्यलाई अझै तदारुकताका साथ संचालन गर्न प्रहरी कर्मचारीहरु सदैव तल्लीन हुने विश्वास व्यक्त गरे।
प्रहरी महानिरीक्षक सिंहले हाल भइरहेका कामलाई निरन्तरता दिँदै सुधारका पक्षलाई समेत समेट्दै उत्कृष्ट काम गर्ने विश्वास लिएको चर्चा गर्दै आगामी दिनको चुनौती समाना गर्न स्थानीय चुनावमा देखाएको व्यावसायिकतालाई कायम राख्दै क्रियाशील हुन निर्देशन दिए।
मनसुन नजिकै आएको अवस्थामा विपद् व्यवस्थापनमा पूर्वतयारीका साथ लाग्नुपर्नेमा उनको जोड छ। पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको तर्फबाट बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले आफ्नो बुद्धि, विवेकले भ्याएसम्म प्रहरी संगठन, देश र नागरिकको सेवामा उच्च मनोबल, नयाँ जोश जाँगर र इमानदारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले अपराधका प्रवृत्ति र प्रकृति परिवर्तन भएको हालको अवस्थामा थपिएको चुनौतीलाई एकताबद्ध भई काम गर्न अगाडि बढ्ने विचार व्यक्त गरे। एआइजीमा बढुवासँगै सरकारले उनीहरुको पदस्थापन पनि गरिसकेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ