अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फिलन आज चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला चार्ल्स नेपाल आउन लागेका हुन्।
सैनिक प्रवक्ता नारायण सिलवालले अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्रका प्रमुख जनरल फिलनको सद्भावना भ्रमण रहेको बताएका छन्। फिलन बिहीबार बेलुकी आफ्नै विमानमा काठमाडौं उत्रने छन्। शुक्रबार उनले शैनिक मुख्यालय जंगी अड्डा भ्रमण गर्ने कार्यक्रम छ।
शुक्रबार उनलाई सैनिक मुख्यालयमा नेपाली सेनाको एक टुकडीले सम्मान गर्नेछ। त्यसपछि प्रधानसेनापति शर्मा र जनरल फिलनबीच भेटवार्ता गर्ने कार्यसूची रहेको छ। शुक्रबार बेलुकी प्रधानसेनापति शर्माले जनरल फिलनको सम्मानमा रात्रिभोज गर्दै छन्।
जनरल फिलनले शनिबार माउन्टेन फ्लाइट गर्ने छन्। उनी सगरमाथा आधार शिविर जाने छन्। सोही क्रममा उनले एभरेष्ट भ्यु होटेलमा बिहानी खाना खानेछन्। उनले आइतबार नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालको भ्रमण गरेर त्यही बिहान खाना खाने छन्।
त्यसपछि उनी शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा जाने छन्। यसबीचमा जनरल फिलनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवालाई भेट्ने छन्। भ्रमणमा नयाँ एजेन्डा केही नरहेको र औपचारिक भ्रमण मात्रै रहेको सैनिक मुख्यालयले जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ