नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी फ्लेवर आउने खालको बजेट ल्याउन प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीहरुलाई निर्देशन दिएका छन् । माओवादीप्रति जनताको भरोसा बढेकाले उनीहरूको भावनाको कदर गर्ने गरी बजेट ल्याउन उनले निर्देशन दिए ।
माओवादी केन्द्रको अर्थ तथा योजना विभागले बुधवार राति आयोजना गरेको माओवादीबाट बनेका मुख्यमन्त्री, अर्थमन्त्री र प्रदेश योजना आयोगका अध्यक्षको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले बजेटमा माओवादी फ्लेवर आउनु पर्ने बताएका हुन् ।
‘बजेटमा कँही न कँही माओवादी फ्लेवर आओस्, प्रदेशको विकासको लागि दीर्घकालिन र जनतालाई तत्काल राहत पुग्ने खालका कार्यक्रम बजेटमा समेटियोस्’ प्रचण्डको निर्देशन उदृत गर्दै माओवादी लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालले भने ।
बैठकमा सहभागी मुख्यमन्त्री र मन्त्रीहरूले संघबाट बजेट घटेर आएको गुनासो गरेका थिए । कर्णाली, मधेस प्रदेशमा अपेक्षा गरेअनुसार बजेट नआएको उनीहरूले गुनासो गरेका थिए ।
प्रदेश मन्त्रीहरूले केन्द्रले पर्याप्त कर्मचारी नदिदा अपेक्षा गरेअनुसार काम गर्न नसकिएको बताएका थिए । गठबन्धन सरकार रहेकोले आफूहरूले सोचे अनुसारको बजेट ल्याउन कठीन रहेको उनीहरूले सुनाएका थिए ।