नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताएका छन् । शुक्रबार सहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको बताए ।
उनले विगतमा गरिएका गल्ती नदोहोर्याउने प्रतिबद्धता गर्दै स्थानीयहरुले अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न पनि आग्रह गरे । महामन्त्री थापाले जग्गा अधिग्रहण गर्ने सबैभन्दा महत्वपूर्ण भएकोले प्रधानमन्त्रीलाई यसबारे सबैले अनुरोध गर्नुपर्ने बताए ।
उनले अहिले सरकारसँग भएको पैसाबाट नै ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न सकिने सुझाव दिएका थिए । ‘यो जग्गा अधिग्रहणको सम्बन्धमा बजेट छुट्याउने कुरा सबैभन्दा महत्वपूर्ण हो । सम्माननीय प्रधानमन्त्रीज्यूलाई हाम्रोतर्फबाट आग्रह गरेर गर्न सकिन्छ । नेपाल सरकारसँग भएकै पैसाबाट मजाले काम गर्न सकिन्छ । बजेट छुट्याउँदै गर्दा हामीले ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहणको लागि भनेर छुट्याउँ । १७० पटक सम्झौता भएको छ, तपाइँहरूलाई हामी देख्नासाथ रिस उठ्छ पनि होला । यो हामीबाट नै भएको गल्ती हो । तर म एकपटक सबैलाई अब सहमति गर्नु नपर्ने गरी काम गरौं ।
अनुगमन समिति बनाएर काम गर्छौं । हामीलाई विश्वास गर्नुहोस् । तर काठमाडौं अब फोहोर थेग्ने अवस्थामा छैन । जनस्वास्थ्यको हिसावले पनि अत्यन्त बिजोक भएको अवस्था छ । अब हामी त्यो गल्ती दोहोर्याउँदैनौं,’ नेता थापाले भनेका छन् । महामन्त्री थापाले काठमाडौंमा यस वर्ष बनाउने भनिएका पूर्वाधार संरचनाहरु रोकेर भए पनि फोहोर व्यवस्थापन गर्न लाग्नुपर्ने बताएका थिए ।