केन्द्रीय कारागारामा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेलाई भेट्न सहजीकरण गरेको आरोपमा डिएसपी मिलन केसीमाथि छानविन थालिएको छ । प्रहरी वृत स्वयम्भूमा कार्यरत डिएसपी केसीको गतिविधि ‘गैरव्यवसायीक’ जस्तो देखिएपछि उनीमाथि छानविन शुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बतायो ।
गुन्डा नाइके बस्नेतलाई भेट्न जेलभित्र पुगेको खुलेपछि काठमाडौं प्रहरी परिसरले डीएसपी केसीमाथि आन्तरिक छानबिन थालेको हो । निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा पुर्पक्षका लागि जेल चलान भएका बस्नेतलाई भेट्न डीएसपी केसी आइतबार सुन्धारा कारागार पुगेको प्रहरीको उच्च स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार डीएसपी केसी अर्का गुण्डा नाइके अमृत केसीलाई लिएर कारागार पुगेका थिए । काठमाडौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुदीप गिरीले भने डीएसपी केसीले गुण्डा नाइकेलाई भेटेकोबारे आफूले जानकारी लिइरहेको बताए ।
प्रहरीको कुनै पनि माथिल्लो निकायलाई रिपोर्टिङ नै नगरी कारागार पुगेको खुलेपछि डीएसपी केसीमाथि काठमाडौं प्रहरी परिसरले सोधपुछसमेत गरिसकेको छ । सोधपुछका क्रममा डीएसपी केसी कारागार पुगेको पुष्टि भएपछि विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी काठमाडौं प्रहरीको छ ।
गौचन हत्याका मुख्य योजनाकार बस्नेतले कारागारभित्रैबाट पछिल्लो समय विभिन्न आपराधिक गतिविधि सञ्चालन गर्दै आएका छन् । एक वर्षअघि बस्नेत समूहको नाम लिएर प्राइभेट नम्बरबाट फोन गरेर धम्क्याउँदै निर्माण व्यवसायीहरूसँग मोटो रकम माग्ने गरेको खुलेको थियो । सो प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान नै गर्नुपरेको थियो ।
निर्माण व्यवसायीलाई धम्क्याउँदै फिरौती रकम उठाउने गतिविधिमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापासहितको भूमिका शंकास्पद देखिएको थियो र थापासिहत ८ जनालाई प्रहरीले पुर्पक्षका लागि जेल चलानसमेत गरेको थियो । तीमध्ये थापा भने जेलमुक्त भइसकेका छन् । उनीहरू कारागारभित्र कार्यरत प्रहरी जवानको मिलोमतोमा बस्नेतलाई भेट्न पटक-पटक कारागार पुगेको खुलेको थियो ।
२३ असोज २०७४ मा आफूले मागेको साढे २ करोड रुपैयाँ रकम नदिएको भन्दै समीरको निर्देशनमा गौचनको हत्या भएको थियो । समीर १७ मंसिर २०७४ मा पक्राउ परेका हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ