‘दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदा’ विषयक दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ ।
पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय एवं त्रिभुवन विश्वविद्यालय पृथ्वी नारायण क्याम्पस, पोखराद्वारा संयुक्तरूपमा आयोजित सम्मेलनमा प्रस्तुतिकरण र सामूहिक छलफल गरिएको थियो । दक्षिण एसियाली अध्ययनका विभिन्न पक्षका अन्तरविषयमा सहभागी विद्वान्ले प्रस्तुतिकरण र सामूहिक छलफलमा भाग लिनुभएको थियो । सम्मेलनमार्फत दक्षिण एसियाली अध्ययनसँग सम्बन्धित सङ्ग्रहालय र स्मारक, आदिवासी, भाषा र साहित्य, पर्यटन, वातावरण र इकोक्रिटिकिज्म्, सिनेमा, प्रदर्शन र दृश्यकलाका साथै न्यू मिडिया, सञ्चार र साइबर संस्कृतिलाई निचोडको रूपमा प्रस्तुत गर्दै प्रस्तुत विषयका अनुभव र अन्वेषणलाई एकत्रित गरी जर्नल प्रकाशित गरिने जनाइएको छ ।
सम्मेलनमा नेपाल, भारत, चीन, भुटान, बङ्गलादेश र इटालीका १५ वटा विश्वविद्यालयबाट कूल ८६ प्राध्यापक, विद्वान्, स्वयंसेवक एवं अनुसन्धानकर्ता सहभागी रहेका थिए । कूल ३५ वटा कार्यपत्र प्रस्तुत गरिएको पोखरा विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका अङ्ग्रेजी केन्द्रीय विभागका प्रा डा अभि सुवेदी र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा अम्मराज जोशी प्रमुख वक्ताका रुपमा रहनुभएको सम्मेलन पाँचवटा सत्रमा चलेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ