नेपाल एसिसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी प्रतियोगिता अन्तर्गत सोमबार समूहको आफ्नो तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगाडिनै अन्तिम चारमा प्रवेश गरेको हो।
बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले २ विकेट गुमाएर ३.४ ओभरमा पुरा गर्यो। नेपालका लागि सीता राना मगरले ४ तथा कविता जोशीले ३ रन बनाए। नेपालले अतिरिक्तबाट ८ रन जोडेको थियो।
यसअघि किनरारा एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो। उसका लागि ईशारा सुहुनले सर्वाधिक ६ रन बनाएकी थिइन्।
नेपालका लागि कविता कुँवर र सबनाम राईले २-२ तथा अस्मिना कमाचार्यले १ विकेट लिइन्। खेल निर्धारित समय अनुसार बिहान ८ : १५ मा सुरू हुनुपर्ने थियो। तर वर्षाको कारण समयमै सुरू हुन नसक्दा खेल ७-७ ओभरमा छोट्याएको थियो।
यो जितसँगै नेपाल समूह बी मा ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ। नेपाल शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुगेको हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ