शुक्रबार, जेष्ठ ३, २०८२

असार १५ को चटारो: होला त माओवादीमा पदाधिकारी चयन ?


कान्तिपथ


नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रीय कमिटी बैठकले पार्टीका पदाधिकारी चयन गर्ने संकेत गरेका छन्। पार्टी संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता गुरुङले पार्टी पदाधिकारीको चयन आवश्यक्ता अनुसार केन्द्रीय समितिको बैठक बसेर उपयुक्त समयमा निर्णय लिने विषय भएको बताए।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले पदाधिकारी नियुक्ति कहिले हुन्छ ? भनेर गरेको प्रश्नको जवाफ दिँदै गुरुङले आगामी असार १५ गते बस्ने बैठकले त्यसबारे आवश्यक निर्णय लिन सक्ने बताए। ‘पदाधिकारीको विषयमा पार्टीले आवश्यकताअनुसार केन्द्रीय समितिको बैठक बसेर उपयुक्त समयमा निर्णय गर्न सक्छ। अब असारको १५ गते केन्द्रीय समितिको बैठक बस्ने भनेर भनिएको छ,’ गुरुङले भने, ‘सम्भवतः त्यो बैठकमा पनि हुन सक्दछ।’

आफ्नो पार्टीका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटवार्तालाई फरक रुपमा अर्थ्याउन जरुरी नरहेको गुरुङको भनाइ छ। ‘एमाले अध्यक्ष ओली र नेता नारायणकाजी बीचको भेटघाट एउटै सदनमा, एउटै प्रक्रियामा रहेपछि नहुने प्रश्नै भएन। राष्ट्रिय स्वाधिनताको प्रश्नमा जोसँग विचार मिल्छ हामी उहीसँग चुनावी तालमेल गरेर जान्छौं,’ गुरुङले भने।

पुस ११ देखि १८ सम्म महाधिवेशन गरेको माओवादी केन्द्रले २ सय ४६ केन्द्रीय सदस्य र अध्यक्ष मात्र चयन गरेको छ। महाधिवेशनपछि पुस १९ गते बसेको पहिलो बैठक अध्यक्षमा प्रचण्डलाई चयन गर्दै सकिएको थियो। महाधिवेशनले पदाधिकारी छनोट गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो।

माओवादीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। विधानअनुसार माओवादीले अब एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित गर्न बाँकी छ। आकांक्षी धेरै भएपछि पदाधिकारी चयन नगरी केन्द्रीय सदस्य मात्र चयन गरेर महाधिवेशन सकिएको थियो।

माओवादी केन्द्रले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा पनि अध्यक्ष मात्र बनाएको थियो। अरु सबै केन्द्रीय सदस्यको हैसियतमा चुनावमा होमिएका थिए। अहिले पनि संघिय र प्रदेशसभाको निर्वाचन आएकोले माओवादीले पदाधिकारी चयन नगरी चुनावमा केन्द्रित हुनसक्ने संभावना रहेको नेताहरु बताउँछन्।

प्रचण्डले आइतबार पूर्वमाओवादीहरू एकै ठाउँमा आउने वातावरण बनेको दाबी गरे। नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले एकताको वातावरण बनेर छिट्टै यो विषय टुंगोमा पुग्ने अवस्था सिर्जना भएको पनि उल्लेख गरे। महाधिवेशन सकिएको ६ महिना पुग्नै लाग्दा पनि पदाधिकारीको चयन गर्न प्रचण्डलाई हम्मेहम्मे भएको छ।

पुस १८ गते प्रचण्डले वाचन गरेको २४७ जना केन्द्रीय सदस्यको नाममा महाधिवेशन हलले ताली पिट्यो। महाधिवेशन सकियो। त्यसै दिन केन्द्रीय कमिटीको पहिलो बैठक बसेको थियो। बैठकमा वर्षमान पुन र ओनसरी घर्ती चीनबाट फर्किएपछि पदाधिकारी चयन गर्ने भनेर टारेका थिए प्रचण्डले। उक्त बैठकले अध्यक्षमा भने प्रचण्डलाई सर्वसम्मत गरेको थियो।

माओवादीमा अध्यक्षपछिको सर्वाधिक शक्तिशाली मानिएको महासचिव पदमा आकांक्षीलाई व्यवस्थापन गर्न जटिल देखिएका कारण पदाधिकारी चयनको काम रोकिएको हो। पुस १८ कै बैठकमा टुंग्याउनुपर्ने भनिए पनि नेता वर्षमान पुन उपचारको लागि चीनमा भएकोले तत्काल महासचिव चयनको काम रोकिएको थियो।

माओवादी महासचिवका लागि वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल र देवप्रसाद गुरुङले दाबी गरिरहेका छन्। यसमध्ये पनि शर्मा र पुन मुख्य प्रतिस्पर्धीको रुपमा देखिन्छन्। जो महासचिव भए पनि एकले अर्कोलाई नस्वीकार्ने स्थिति आएकोले पनि प्रचण्डले टारिरहेको उनी निकट एक नेताले बताए।

नारायणकाजी श्रेष्ठ खेमाले गिरिराजमणि पोखरेललाई अघि सार्दै महासचिवका लागि लबिङ गरिरहेको बताइएको छ। तर, प्रचण्ड त्यसमा सकारात्मक छैनन्। पुन र शर्मा सशस्त्र युद्धदेखिकै प्रतिस्पर्धी हुन्। त्यसबेलादेखि शर्मा र पुनको कारण जन्मिएको दुइटा धार रुकुम र रोल्पामा आजसम्म कायम छ। माओवादी नेताहरूका अनुसार अन्तिम समयमा कृष्णबहादुर महरा, जयपुरी घर्ती र शक्ति बस्नेतलगायतले पुनलाई साथ दिने सम्भावना छ। मात्रिका यादव र देवेन्द्र शर्माले जनार्दनलाई साथ् दिने देखिन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत