बुधबार, असार १५, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • झ्याप्पै २ करोड हान्दिऊँ भन्ने ‘बिचौलिया वकिल’ ले न्याय खोज्ने !

झ्याप्पै २ करोड हान्दिऊँ भन्ने ‘बिचौलिया वकिल’ ले न्याय खोज्ने !


कान्तिपथ


काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बारका तत्कालीन कोषाध्यक्षसमेत रहेका ‘बिचौलिया वकिल’ रुद्र पोखरेलबीच मुद्दा मिलाउन घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै न्यायक्षेत्र तरंगित भएको छ ।

सिभिल सेभिङ एवं क्रेडिट को-अपरेटिभमा बचतकर्ताहरूको आठ अर्बबढी ठगी गरेको आरोपमा पुर्पक्षका लागि ९ महिनादेखि जेलमा रहेका इच्छाराज तामाङलाई छुटाउन एमाले निकट वकिलहरुले चलखेल गरेको अडियो सार्वजनिक भएसङ्गै तरंग पैदा भएको हो । आज बिहान अडियो आउट भएलगत्तै न्याय परिषदको बैठक डाकिएको छ ।

न्यायालय सुधारको आन्दोलन गर्ने वकिलहरुले नै मुद्धा मिलाउन न्यायाधीशलाई करोडौँ रकम अफर गरेको अडियोमा सुन्न सकिन्छ । जसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणादेखि काठमाडौँ जिल्ला अदालतका १ नं. न्यायाधीश समेत सेटिङमा सहयोगी हुने दाबी गरिएको छ ।

बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै सिभिल ग्रुपका पूर्वअध्यक्ष तामाङलाई सिआइबीले असोज १८ गते पक्राउ गरेको थियो । उनीसहितका प्रतिवादीहरूलाई ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेर मुद्धा चलाएको थियो । गत वर्षको पुसमा विशेष अदालतले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

तामाङ दोस्रो संविधानसभामा एमालेको तर्फबाट सांसदसमेत थिए । तामाङलाई छुटाउन न्यायाधीशसँग रकम बार्गेनिङ्ग गर्ने पोखरेल एमाले कानुन विभाग सदस्य हुन् भने पहिले उच्च अदालत पाटन बारको अध्यक्ष थिए ।

अडियो बाहिरिएपछि कानुन व्यवसायी रुद्र पोखरेलले आफूले आफैलाई निलम्बनको घोषणा गरेका छन् । उनले आफू त्यस किसिमको कुनै पनि वार्तामा संलग्न नरहेको बताउँदै आफूमाथि भएको षड्यन्त्र उपर कानुनी उपचारको खोजीमा रहेको पनि बताएका छन् ।

यस प्रकरणको नेपाल बार एसोसिएसन र बार काउन्सिललाई छानबिन उनले गर्न मागसमेत गरेका छन् । उनले भनेका छन्, ‘हालै सार्वजनिक भएको अडियोको छानबिन होस, यस किसिमको वार्तामा म संलग्न छैन । नेवाए र बार काउन्सिलबाट हुने यस प्रकरणको छानबिनमा म उचित र पर्याप्त सहयोग गर्न तयार छु । हाललाई म नेवाएको सदस्यका हैसियतले कुनै पनि गतिविधिमा सहभागी नहुने गरी मैले स्वयं सदस्यता स्थगन गरेको छु र कानुन व्यवसायीको हैसियतले कुनै पनि मुद्दाको बहस पैरवी तथा परामर्शमा सहभागी नहुने गरी स्वयंलाई निलम्बन गरेको छु । म उपर भएको षड्यन्त्र उपर कानुनी उपचारको खोजीमा छु ।’

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत