दोलखाका स्थानीय तह आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणमा व्यस्त छन् । गत वैशाख ३१ मा भएको निर्वाचनमा सबै स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएसँगै आगामी आर्थिक वर्षको बजेट निर्मणका लागि जनप्रतिनिधि सभा, गोष्ठी र छलफलमा व्यस्त भएका हुन् । अघिल्ला जनप्रतिनिधिले भन्दा केही फरक, साझा र लोकप्रिय बजेट बनाउने उद्देश्यले जिल्लाका दुई नगरपालिका र सात गाउँपालिका नै छलफलमा जुटेका छन् ।
जिल्लाकका सबै पालिका स्थानीय आवश्यकतालाई मध्यनगर गरी असार १० गते बजेट ल्याउने तयारीमा छन् । नेपालको एक पर्यटकीय नगरी जिरी नगरपालिकाले स्थानीय नागरिकको आवश्यकतालाई ध्यानमा राखी पर्यटन विकास र आर्थिक विकासको योजनामा विशेष महत्वका दिएर निर्माण गरिरहेको नगरप्रमुख मित्रबहादुर जिरेलले बताउनुभयो । ‘क्लिन,ग्रिन र आर्गनिक जिरी’ भन्ने नगरको नारालाई साकार पार्न नगरभित्रका विभिन्न टोल टोलमा उपभोक्ता तथा विज्ञ टोलीसँगको छलफलमा योजना निर्माणको काम भइरहेको उहाँले बताउनुभयो ।
त्यस्तै धार्मिक तथा पर्यटकीय ऐतिहासिक नगर भीमेश्वर नगरपालिकाले पनि भौतिक पूर्वाधार निर्माण र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिरहेको नगर उपप्रमुख कमला बस्नेतले बताउनुभयो । विभिन्न जातजाति भाषाभाषीको बसोबास रहेको र सबैलाई सम्बोधन हुनेगरी बजेट निर्माण भइरहेको उहाँको भनाइ थियोे । मेलुङ गाउँपालिकाले पनि दीर्घकालीन योजनालाई प्राथमिकतामा राखेको छ । गाउँपालिका प्रमुख हीरा थोकरले आफूहरुको पहिलो कार्याकाल भएको र दीर्घकालीन योजनाको खाका निर्माण गर्दा पालिकालाई पछिसम्म फाइदा हुने योजनालाई बढी महत्व दिइएको उहाँले बताउनुभयो ।
आन्तरिक स्रोत सबै र राजस्व सबैभन्दा बढी उठाउने बिगु गाउँपालिकाले भौतिक पूर्वधार र शिक्षा, जलस्रोत र पर्यटनलाई उच्च प्राथमिकता दिएको गाउँपालिकाकी उपप्रमसख देवीका थामीले बताउनुभयोे । वैतेश्वर गाउँपालिकाले पनि सबै वडामा वडागत बजेटको सिलिङ तोकेर सोही अनुसारको योजना छनोटका लागि वडालाई पत्रचार गरेको छ । आठ वटा वडा रहेको उक्त पालिकामा यसअघि रु ४० लाखसम्मको योजना छनोटको लागि वडालाई बजेटको सिलिङ तोकिएकोमा यस वर्ष ५० लाखसम्मको योजना छनोट गर्न पत्रचार गरिएको छ ।
अघिल्लो कार्याकाल अध्यक्ष भई पुनःदोहोरिनुभएका पालिका अध्यक्ष छवि लामाले सबै वडामा रु ५० लाखसम्मको योजना छनोटको लागि वडाध्यक्षलाई बजेट सिलिङ तोक्नु भएको र अन्य पालिकाले कृषि स्वास्थ्य शिक्षा पर्यटनलगायतको क्षेत्रका आवश्यकताअनुसार बजेट विनियोजन गरिने बताउनुभयो । जिल्लामा वैतेश्वर गाउँपालिका बाहेक सबै पालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएसँगै अघिल्लो जनप्रतिनिधिले भन्दा केही फरक र लोकप्रिय योजना ल्याउने योजनामा पालिका रहेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ