वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष हरिहर दाहालको नाम हुण्डी प्रकरणमा मुछिएको छ । वरिष्ठ अधिवक्ता दाहाल र अधिवक्ता युवराज भण्डारीमाथि छानबिन गर्न माग गर्दै अधिवक्ता प्रेमसिंह धामीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दिएको निवेदन आफैंले फेसबुक मार्फत सार्वजनिक गर्दै न्यायपरिषदको ध्यानाकर्षण गराएका छन् ।
दुई दिन अघि मात्रै जिल्ला अदालतका न्यायाधीश र अधिवक्ता रुद्र पोखरेलबीच भएको घुससम्बन्धी अडिओ सार्वजनिक भएको थियो । ललितपुरमा एउटा जग्गा कारोबारमा भएको ३२ करोड रूपैया हुण्डीबाट भारतलगायतका देशमा गएको र यसमा वरिष्ठ अधिवक्ता दाहाल नै संलग्न रहेको भन्दै धामीले अख्तियारमा निवेदन दिएका थिए ।
३ रोपनी ७ आना जग्गाको हकमा २०७४ पुस १७ गते अल्कानन्द सेन गुप्ताको वारेस अमृतकुमार केसीले ललितपुर जिल्ला अदालतमा निवेदन सहित २ करोड ३ लाख ४ हजार ८३६ रूपैयाँ नगद नै जम्मा गरेको र उक्त रकम वरिष्ठ अधिवक्ता दाहाल र अधिवक्ता भण्डारीको संयुक्त अफिसबाट जम्मा भएको देखिएको धामीको दाबी छ ।
उक्त जग्गा दिने अल्कानन्द सेन गुप्ता, लिपिसेन गुप्ता, उर्मीसेन गुप्ता र लिने भाइराजा अवाले, कृष्ण अवाल, राम अवाले, श्यामकाजी अवाले, केदार अवालेसमेत भएको राजीनामा लिखतमा उल्लेखित ३२ करोड रूपैयाँको प्रकरणमा वरिष्ठ अधिवक्ता मुछिएका हुन् ।
राजीनामाको लिखत पारित गरी लिखतमा उल्लेख भएको ३२ करोड रूपैयाँ हुण्डीबाट भारतलगायतका अन्य देशमा पठाइएको दाबी गर्दै धामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत उजुरी दिएको जनाएका छन् । उनले रकम हुण्डी गरी पठाउने कार्यमा वरिष्ठ अधिवक्ता दाहाल नै संलग्न रहेको भन्दै उनीमाथि छानबिनको माग गर्दै निवेदन दिएका हुन्।
धामीले उजुरी सार्वजनिक गर्दै आफूले उल्लेख गरेको व्यहोरा साँचो रहेको भ्न्दै जग्गा मिलाई दिएबापत वरिष्ठ अधिवक्ता दाहाल र अधिवक्ता भण्डारीले कमिसनबापत दुवै पक्षका ८ करोड रूपैया प्राप्त भएको दाबी गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ