अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहेका जितपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईँविरुद्ध अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।
न्यू पाथिभरा सप्लायर्स, हेटौंडासँग सम्झौता पत्रमा उल्लेख भएबमोजिमको सर्त पूरा नगर्दा पनि नियमित रूपमा गिट्टी बालुवा उत्खनन, बिक्री वितरण कार्य गर्न दिएको भन्दै आयोगले उनी विरुद्ध सवा एक करोड रुपैयाँ बिगो दाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेढाईंले बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री गर्ने गरी न्यू पाथिभरा सप्लायर्स, हेटौंडा–४, मकवानपुरसँग सम्झौता गर्दा दुई किस्ताबापत हुन आउने रकमको ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत लिनुपर्नेमा नलिएर सम्झौता गरेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ठेकेदारको तर्फबाट कबोल बमोजिमको रकममध्ये अहिलेसम्म दाखिला गर्न बाँकी रकम एक करोड २० लाख २८ हजार ९० रुपैयाँ नगरपालिकाको राजस्व रकम चुहावट गरेको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेढाईलाई बिगो एक करोड २० लाख २८ हजार ९० रुपैयाँ नै बिगो दाबी गर्दै कैद सजाय माग गरिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ