नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारको नेतृत्वमा कांग्रेस भएपनि माओवादीले चलाएको सरकार भन्ने सन्देश प्रवाह भएको बताएका छन् । काठमाडौंमा बिहीबार आफूपक्षीय नेताहरूसँगको छलफलमा नेता कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार सन्चालन भएको नौ भइसकेको भए पनि कांग्रेसजन र नागरिकको तहमा त्यसको आभाष हुन नसकेको बताए ।
नेता कोइरालाले सरकारमा पाँच दलीय गठबन्धन भएपनि नेपथ्यमा कम्युनिस्ट एकताको कुरा जोडतोडले उठिरहेको र त्यसप्रति सजग हुनुपर्ने बताए ।
उनले पार्टी विधानअनुसार चल्न नसकेको बताए । ‘देउवाजी सानो गुटको घेरामा हुनुहुन्छ । उहाँले पार्टीलाई विधानअनुसार चलाउन सक्नुभएको छैन । सरकार र पार्टीको परफरमेन्सले कार्यकर्ता र आमनागरिक असन्तुष्ट छन्,’ उनले भनेका छन् । नेता कोइरालाले पार्टीका भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा सभापतिले कसैसँग परामर्श नगरेको बताए ।
कोइरालाले मुलुकको अर्थ व्यवस्था चौपट हुँदा पनि प्रधानमन्त्रीले ठोस कदम नचाल्नु दु:खद भएको बताएका छन् । उनले अर्थ मन्त्रालयमा भएको अर्बौँको चलखेल र लेनदेनबाट मन्त्री आरोपित हुँदा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले कारबाही नगरेको भन्दै प्रश्न उठाएका छन् ।
नेता कोइरालाले प्रधानमन्त्री देउवाले राष्ट्रहित र आम नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । उनले निर्वाचनको मुखमा हुने यस्ता जघन्य आर्थिक विचलनले मुलुकलाई बर्बाद गर्ने र ब्यबस नै दाउमा पर्ने धारणा राखे । ‘राष्ट्रहित र आम नागरिकको हितभन्दा कांग्रेस पार्टी र सभापति देउवा वा अरु कसैको किमार्थ हित हुनुहुँदैन । तर चुनाव अगाडि भएका यस्ता जघन्य आर्थिक विचलनले मुलुकलाई बर्बाद मात्र गर्दैन, व्यवस्था नै नागरिकको कठघरामा उभिन्छ,’ नेता कोइरालाले भने ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ