नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। जसपाभित्र विवादका कारण पार्टी विभाजनसम्म पुग्न लागेका बेला भट्टराईले बिहीबार बिहान उपराष्ट्रपति निवासमा प्रचण्डसँग भेटघाट गरेका हुन् ।
उपराष्ट्रपति निवासमै प्रचण्ड र भट्टराईले यसअघि दुई पटक छलफल गरिसकेका छन् । पूर्व माओवादीहरुबीच एकताको प्रयास गरिरहेका प्रचण्डले भट्टराईलाई पार्टीमै ल्याउने कोसिस गरिरहेको र त्यो सम्भव नभए समाजवादी केन्द्र बनाएर भए पनि सँगै राख्ने प्रयत्न भइरहेको माओवादी केन्द्र निकट स्रोतले बतायो ।
भट्टराई पनि माओवादीसँग पार्टी एकता भन्दा पनि समाजवादी केन्द्र बनाएर एउटै मोर्चामा रहन सहमत छन् । पछिल्लो दुई हप्तामा उपराष्ट्रपति पुनलाई साक्षी राखेर प्रचण्ड र भट्टराईले यो सहित तेस्रो पटक कुराकानी गरेका हुन् । जसपामा अध्यक्ष उपेन्द्रसँग अन्तरसंघर्ष चर्किंदै जाँदा समाजवादी केन्द्र निर्माणका लागि भट्टराई सक्रिय भएको र त्यसको तारतम्य उपराष्ट्रपति पुनले मिलाइ रहेको चर्चाका बीच आजको भेटलाई चासोका साथ हेरिएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपेन्द्र र भट्टराईबीच भएको तीन घण्टा लामो छलफलपछि हार्दिकतापूर्वक छुट्टिने सहमति बनेको जसपाका एक नेताले बताएका छन् । उनका अनुसार भट्टराईले पूर्वनयाँ शक्ति पार्टीका नेता/कार्यकर्ता जसपामा अन्तरघुलन हुन नसकेकाले छुट्टिने प्रस्ताव राखेकोमा उपेन्द्रले सहमति जनाएपछि आ-आफ्नो बाटो लाग्ने अवस्था बनेको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ