शनिबार, अशोज ८, २०७९

रोशीमा जीवन्त सङ्ग्रहालय ‘डम्फु’ पार्क


कान्तिपथ



बनेपा : तलतिर कलकल बग्ने रोशी खोला, त्यसको किनारैकिनार नागबेली भएर बनेको बिपी राजमार्ग । अनि त्यसको ठिक माथि उभिरहेको मिन्दुपा, छहरे र सोरे डाँडा । त्यसैको फेदमा निर्माण भइरहेको तामाङ समुदायको सांस्कृतिक बाजा पहिचानको प्रतिक ‘डम्फु’ पार्कले सबैको मन तानिरहेको छ ।

आसपासको समुदायका मानिस हुन् या बिपी राजमार्ग भएर यात्रारत मानिस । ठूलो र अग्लो आकृतिमा ठडिदै गरेको डम्फु पार्कको निर्माणाधीन अवस्थामा चक्र झैँ ठडिएको डम्फु आकृतिको संरचनामा जो कोहीको पनि आँखा टक्क अडिने गर्छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ११ कालढुङ्गास्थित सोरेडाँडाको फेदी भएर बगिरहेको भ्याकुरे खोला छेउमा रोशी खोलाको माथि र बिपी राजमार्गको छेवैमा निर्माण भइरहेको ‘डम्फु’ को संरचना तामाङ समुदायको सांस्कृतिक बाजा हो । जसलाई सांस्कृतिक पहिचानको रुपमा स्थापित गर्न रोशी गाउँपालिकाको सक्रियतामा डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरी राष्ट्रिय योजना आयोगको आर्थिक सहयोगमा करिब रु ११ करोडको लागतमा अहिले निर्माणको चरणमा रहेको छ ।

सो पार्कको संरचना निर्माणका लागि जगबाट माथि उठेर अहिले फलामे रिङगको संरचनामा डम्फु आकृति निर्माण हुँदैछ । निर्माण कम्पनीका कृष्णहरि आचार्यका अनुसार सो डम्फुको क्षेत्रफल तीस फिट अग्लो र तीस फिट चौडाइको छ । पहिलो चरणमा एक करोड ५० लाखमा जग निर्माण भइसकेपछि अहिले दोस्रो चरणमा डम्फु स्तम्भ निर्माण भइरहेको हो । निर्माण व्यवसायी आचार्यका अनुसार निर्माण भइरहेको डम्फु स्तम्भ एक करोड २२ लाखमा ठेक्का सम्झौता भएर काम भईरहेको छ । दैनिक १५ जना जनशक्ति खटिरहेकोमा यही असार मसान्तभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । अब ८ करोडको ठेक्का सम्झौता गर्न बाँकी रहेकोमा त्यसबाट एउटा पुस्तकालय भवन र तामाङ सङ्ग्राहलय निर्माण हुनेछ । तामाङ जीवन्त सङ्ग्राहलय निर्माणसँगै उद्यान समेत बन्नेछ ।

स्थानीय चन्द्र लामाले तामाङ बस्ती रहेको यहाँ निर्माणाधिन सङ्ग्राहलयमा आउने स्वदेशी विदेशी पर्यटकले यहाँको आर्थिक विकासमा टेवा पु¥याउने विचार व्यक्त गर्नुभयो । पार्कसँगै सङ्ग्राहलय निर्माण भएपछि तामाङ संस्कृतिको बारेमा अध्ययन गर्ने स्थल र पर्यटकीय केन्द्रका रुपमा विकास हुने उहाँको भनाइ छ । बिपी राजमार्ग भएर यात्रा गर्नेका लागि लामो दूरीको यात्रापश्चात बीचमा आराम गरेर बस्ने उपयुक्त ठाउँ कालढुङ्गा भएको र सो क्षेत्रमा सार्वजनिक जग्गा पनि भएकोले यो सङ्ग्राहलय निर्माणको परिकल्पना गरेको रोशी गाउँपालिका वडा नं. ११ का निवर्तमान वडा अध्यक्ष मिलन लामाले बताउनुभयो । यो संरचना बनेपछि पर्यटकको चहलपहल हुने उहाँको विश्वास छ । सङ्ग्राहलयलाई बुहउपयोगी बनाउने गरी निर्माण कार्य अगाडि बढेको छ । गाउँपालिकाको पहलमा वडा नं. ११ मा ६० रोपनी जग्गा ब्यवस्थापन गरी निर्माण कार्य अगाडि बढेको छ ।

वरिपरि बुद्धचित्त मालाको बिरुवा, फुल रोपेर संग्राहलयको लागि आवश्यक पर्ने अन्य विविध संरचना निर्माण गर्ने पालिकाको योजना छ । तामाङ समुदायको बाहुल्यता रहेको रोशी गाउँपालिकामा सो समुदायको कला, भेषभुषा, संस्कृति र पहिचानको संरक्षणको लागि यो संरचना निर्माण थालनी गरिएको हो । डम्फु तामाङ जातिको विवाह, ब्रतबन्ध, मृत्य संस्कार लगायत जन्मदेखि मरणसम्मको कार्यमा प्रयोग हुने सांस्कृतिक बाजा भएकोले सङ्ग्राहलयको नामकरण यसैबाट राखिएको निवर्तमान अध्यक्ष दलबहादुर लामाले बताउनुभयो । योसँगै गाउँपालिकाको पहलमा औद्योगिक ग्राम निर्माण भइरहेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत