म्याग्दीको बेनी नगरपालिकाले वडा नं ४ सिङ्गामा शीतभण्डार बनाउने भएको छ । आगामी आर्थिक वर्ष २०७९÷८० मा शीतभण्डार बनाउन नगरपालिकाले रु एक करोड ९० लाख विनियोजन गरेको छ । कृषि उपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि शीतभण्डार निर्माण गर्न लागिएको नगरउपप्रमुख ज्योति लामिछाने पौडेलले बताउनुभयो ।
“नगर क्षेत्रभित्र उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा कोल्ड स्टोर कोसेढुङ्गा साबित हुनेछ्,” उहाँले भन्नुभयो, “कोल्डस्टोर नगरपालिकाले बजेट विनियोजन गरेको आगामी वर्षको सबैभन्दा ठूलो योजना हो ।”
दुई वर्षअघि बेनी नगरपालिकालाई कोल्डस्टोर बनाउन सङ्घीय सरकारबाट बजेट विनियोजन भए पनि स्थान छनोट हुन नसकेपछि कार्यान्वयन हुन सकेको थिएन । कोल्डस्टोर बनेपछि सुन्तला, आलुलगायत कृषि उपज भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन र बढी मूल्य पार्न सकिन्छ ।
कूल रु ७३ करोड २२ लाख बजेट विनियोजन गरेको नगरपालिकाले पूँजीगततर्फ रु २७ करोड आठ लाख बजेट छुट्याएको छ । कृषि, पूर्वाधार र सामाजिक क्षेत्रमा प्राथमिकता दिएर बजेट विनियोजन गरेको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।
नगरका सबै सडकमा बाह्रै महिना यातायात सञ्चालन गर्ने नीति लिएको बेनी नगरपालिकाले बेनी–पात्लेखेत सडकलाई रु एक करोड, दूधेखोला भकिम्ली सडकलाई रु ४७ लाख, बेनीको स्टेडियमलाई रु ५० लाख, बेनी पुलाचौर सडकलाई रु २५ लाख र बेनी ज्यामरुककोट सडकलाई रु २५ लाख विनियोजन गरेको छ ।
नगरप्रमुख केसीले प्रदेश सरकारको साझेदारीमा अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक स्तरोन्नित गर्न रु ७० लाख विनियोजन भएको बताउनुभयो । नगरपालिकाको निर्माणाधीन भवनको तला थप गर्न रु ४५ लाख विनियोजन छ ।
खबरा खानेपानी योजनालाई रु ९१ लाख, गाजने नयाँ गाउँ ढोल्थान पुलाडाँडा खानेपानी योजनालाई रु एक करोड, जामुनाखर्क एक घर एक धारा खानेपानी योजनालाई रु एक करोड र पात्लेखेत काछलुङ्ग बृहत् खानेपानी योजनालाई रु एक करोड विनियोजन भएको छ ।
कृषि÷पशु कार्यक्रमका लागि रु दुई करोड नौ लाख ४० हजार विनियोजन गरेको नगरपालिकाले उत्पादनमा युवा प्रोत्साहन कार्यक्रमका लागि रु २२ लाख ५० हजार विनियोजन गरेको छ । यस कार्यक्रमबाट कृषकले पशु र कृषिजन्य वस्तु उत्पादनका आधारमा नगरपालिकाबाट अनुदान पाउने भएका छन् ।
शिक्षा क्षेत्रमा रु २७ लाख ९९ लाख छुट्याएको नगरपालिकाले प्रमुखसँग सामाजिक विकास कार्यक्रम सञ्चालन गर्न रु २० लाख, सबै विद्यालयमा बालविकास केन्द्र स्थापना गर्न रु १५ लाख ६० हजार, एक वडा एक नमूना विद्यालय कार्यक्रमलाई रु १० लाख, जामुनाखर्क माविको भवन निर्माणका लागि रु एक करोड एक लाख विनियोजन गरेको छ ।
महिलाहरुलाई आय र सीपमूलक कार्यक्रममार्फत सशक्तिकरण गरी आत्मनिर्भर बनाउन आमा समूहसँग उपप्रमुख कार्यक्रम सञ्चालन गर्न रु २० लाख विनियोजन गरेको नगरपालिकाले आमा समूहका भवनलाई अर्थोपार्जनको थलोका रुपमा विकास गर्ने नीति लिएको छ । विपद्जन्य घटनाहरुको न्यूनीकरण गरी उद्धार, राहत र पुनः स्थापनाका लागि विपद्मा मेयर कार्यक्रम बनाएको नगरपालिकाले विपद् व्यवस्थापन कोषमा रु ३५ लाख ५० हजार विनियोजन गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ