नेकपा माओवादी केन्द्रले चुनाव नगरी पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो चयन गर्ने भएको छ। आकांक्षी धेरै भएपछि चुनावमा जानुपर्ने माग उठेपनि चुनाव नगर्ने सहमति बनेको हो। मंगलबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको कार्यालयको विस्तारित बैठकले निर्वाचन नगरी सहमतीय आधारमा नाम चयन गर्ने समझदारी बनाएको हो।
एउटै एजेण्डामा विहान ९ बजेदेखि पौने एक बजेसम्म बसेको बैठकमा पदाधिकारी चयनका लागि चुनाव नगर्ने समझदारी बनाएको एक नेताले बताए। अध्यक्ष प्रचण्डले सुरुमा पदाधिकारीदेखि स्थायी र पोलिटब्युरो चयनका विषयमा धारणा मागेका थिए।
त्यसपछि कार्यालयका सदस्यहरुले सुझावसहित आफ्नो दाबी पेश गरेका थिए। बैठकमा जनार्दन शर्मा, मात्रिका यादव, वर्षमान पुनले पदाधिकारीमा इच्छा रहेको बताएका थिए। शर्मा र पुनको दाबी महासचिवमा छ भने यादवले वरिष्ठ उपाध्यक्ष दाबी गरेका छन्।
नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्षका स्वाभाविक दाबेदार हुन्। श्रेष्ठसँग अन्तर्विरोध राख्दै आएका यादवले आफूलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने दाबी अघि सारेका हुन्। माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेगरी पदाधिकारी रहने व्यवस्था छ।
स्रोतका अनुसार आकांक्षी धेरै भएपछि उपाध्यक्षको संख्या बढाउन सक्ने संभावना पनि छ। माओवादी केन्द्रको महासचिव हुन सबैभन्दा धेरै जोडबल स्थायी समिति सदस्य एवम् पुर्व अर्थमन्त्री वर्षमान पुन र अर्का स्थायी समिति सदस्य तथा अर्थमन्त्री जनार्दन शर्माको छ।
पुन पार्टीमा यसअघि सचिव र शर्मा स्थायी समिति सदस्य मात्रै थिए। पछिल्लो समय शर्मा पार्टी संगठन विभाग प्रमुख छन्। पुन अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इन्चार्जको जिम्मेवारीमा छन्। पार्टीमा शर्मा र पुन दुवैले आफ्नो पकड बलियो बनाउँदै लगेकाले चर्को प्रतिस्पर्धा हुने देखिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ