मंगलबार स्थगीत भएको माओवादी केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे बैंठक सुरु हुने माओवादीले जनाएको छ । आजको बैठकमा पदाधिकारी चयनका विषयमा छलफल हुने बताइएको छ । मंगलबार बसेको पूर्व स्थायी कमिटी र ईञ्चार्जको बैठकले पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने निर्णय गरेको थियाे ।
पदाधिकारी र स्थायी कमिटी सदस्यको नामसूची तयार पार्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिइएको छ । पदाधिकारी चयन तत्काल गरिनुपर्ने भन्दै बैठकमा सदस्यहरूले दवाव दिएपछि प्रचण्डले मंगलबारको बैठक स्थगित गरेर आन्तरिक छलफल गरेका थिए ।
सोही अनुसार उनले आकांक्षीसँग छलफल गरेर आजको बैठकमा नाम प्रस्ताव गर्ने बताइएको छ । दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठक पदाधिकारी र स्थायी कमिटीको टुंगो लगाउन मंगलबारका लागि स्थगित गरिएको थियो । मंगलबार उक्त सहमति जुटाएर बुधबार केन्द्रीय कमिटीको अन्तिम बैठकमा घोषणा गर्ने तय गरिएको हो ।