प्रमुख प्रतिपक्षी नेकपा दल (एमाले) ले विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मा पदबाट हट्नुपर्ने अडान राखेको छ। यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बन्ने संसदीय समितिका लागि दलहरूसँग सदस्यको नाम माग गरेका छन्। बुधबार दिउँसो बानेश्वरस्थित संसद भवनमा दलका प्रमुख सचेतकहरूलाई आफ्नो कार्यकक्षमा डाकेर संसदीय समिति गठन गर्न नाम मागेका हुन्। शर्मामाथि छानबिन गर्न बन्ने समितिमा को-को सदस्य रहने भन्ने जानकारी सभामुख सापकोटाले संसद बैठकमा दिनेछन्। एमालेले संसदीय छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने शर्त राखेको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले संसदीय छानविनको माग गर्दै आएको थियो । सत्तारुढ दलहरु सुरुमा संसदीय समिति गठनका लागि तयार भएनन् । बरु अर्थ मन्त्रालयले १३ दिनसम्मको मात्र सीसीटीभी फुटेज रहने भन्दै बजेट निर्माणको समयको फुटेज मेटिएको बतायो । यसपछि अर्थमन्त्री शर्मामाथि राजीनामाको चर्को दबाव परेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसबारे छलफल भएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ