बन्दीपुर गाउँपालिकाले आफ्ना क्षेत्रभित्रका बासिन्दालाई लक्षित गरी आर्थिक आयआर्जनमूलक कार्यक्रमलाई जोड दिँदै आएको छ । गाउँगाउँका महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले सीपमूलक तालिमलाई प्राथामिकता दिएको हो ।
गाउँपालिकाले महिलाहरुका लागि सिलाइकटाइ गर्न मेशिन, सालको पातको टपरी र चप्पल उद्योग सञ्चालनका लागि केही दिनअघि तालिम प्रदान गरिसकेको छ । बन्दीपुर–६ को धरमपानीमा चप्पल उद्योग सञ्चालनमा ल्याउने तयारीका साथ तालिम प्रदान गरिसकेको गाउँपालिकाले जनाएको छ । उक्त वडास्थित धरामपानी महिला उद्यमी समूहलाई तालिम प्रदान गरी चप्पल उत्पादन गर्न लागेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारको गरिबी निवारण उद्यमी विकास कार्यक्रमअन्तर्गत रु दुई लाख १३ हजार पाँच सयमा मेशिन खरिद गरी स्थानीय १२ जनालाई तालिम प्रदान गरिसकिएको जनाइएको छ ।
तालिमबाट सिकेका सीप तथा जनशक्तिलाई परिचानल गरी चप्पल उत्पादन गरी बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ । तालिमपश्चात् सालको पातको टपरी र चप्पल उत्पादन गरेर पालिकास्तरमै खपत गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो ।
बन्दीपुर–५ स्थित याम्पा महिला उद्यमी समूहलाई चारवटा सिलाइकटाइ मेशिन प्रदान गरेर आयआर्जनतर्फ सक्रिय बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिनुभयो ।
गाउँपालिका कार्यालयले बन्दीपुर बजार क्षेत्रमा पेपर प्लेट विस्थापित गरी सालको पातको टपरी प्रयोगमा ल्याउने गरी काम अघि बढाइएको छ । टपरी बनाउनका लागि स्थानीय बाह्र जनालाई तालिम प्रदान गरिसकेको जनाइएको छ ।
‘व्यास नगर समता’ विद्यालय साउनदेखि सञ्चालन हुने
व्यास नगरपालिकाले ‘व्यास नगर समता’ आवासीय विद्यालय आगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ । नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घरपरिवारका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय सञ्चालन गर्न लागिएको हो ।
उक्त प्रकृतिका विद्यार्थीहरुका लागि नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने लक्ष्य लिएको छ । विद्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरी आवश्यकता माग गरिसकेको नगरपालिकाले जनाएको छ ।
विद्यालयमा खाना पकाउने भान्से, शिक्षिका, सुरक्षाकर्मी लगायतका जनशक्ति माग गरिएको नगरपालिकाका सूचना अधिकारी कुमारकञ्चन जिसीले जानकारी दिनुभयो । व्यास–७ शेशमटारमा रहेको क्यामिन कोट प्राथमिक विद्यालयमा ‘व्यास नगर समता’ विद्यालय २०७९ सञ्चालन ल्याउन लागिएको हो ।
एक मात्र सामुदायिक क्याम्पस आदिकवि भानुभक्त क्याम्पसलाई मानक विश्वविद्यालय निर्माण गर्न, विज्ञान तथा प्रविधिको पढाइ सञ्चालन गर्न अध्ययन गरी पूर्वाधार व्यवस्थापनमा सहयोग गर्ने नगरपालिकाको योजना छ ।
नगरपालिकाभित्रका प्रावि, आधारभूत र माध्यमिक विद्यालयमा प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गरिने जनाइएको छ । व्यास–१३ र १४ का सामुदायिक विद्यालयमा बालग्रामसँग सहकार्य गरी विद्यालय सुधारका योजना कार्यान्वयन गर्ने लक्ष्य रहेको छ ।
कक्षा ६ सम्म सामुदायिक विद्यालयमा पढ्ने प्रारम्भिक बाल विकास केन्द्रका विद्यार्थीलाई सङ्घीय सरकारको सहभागितामा दिवा खाजाको प्रबन्धलाई प्रभावकारी रुपमा निरन्तरतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।
नगरपालिकाभित्रका धार्मिक विद्यालय, मातृभाषामा शिक्षा प्रदान गर्ने विद्यालय तथा सामुदायिक सिकाइ केन्द्र सञ्चालनार्थ प्रोत्साहन गर्ने नीति रहेको छ । नगरपालिकाभित्र रहेका विद्यालयमा स्थानीय पाठ्यक्रम र वेदव्याससम्बन्धी अतिरिक्त पाठ्यक्रम अध्यापन गराउने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ