नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने भएका छन्। पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोका सदस्यहरुको नाम प्रचण्डले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने भएका हुन्। यस विषयमा बुधबार बिहान प्रचण्डको निवास खुमलटारमा छलफल भएको थियो। आज बस्ने भनिएको बैठक शिर्ष नेता संसद भवन जानु पर्ने भएपछि स्थगित गरिएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार आजको छलफलमा पनि प्रचण्डले पदाधिकारीबारे केही संकेत दिएका छैनन्। ‘म पेस गर्छु, तपाईंहरुले समर्थन गर्नुहोला,’ उनले भने। आकांक्षीहरु धेरै हुँदा अध्यक्ष प्रचण्डलाई पदाधिकारी टुंगो लगाउन सकस परेको छ। मंगलबार बस्ने भनिको केन्द्रीय कमिटी बैठक नै स्थगन गरेर प्रचण्ड पदाधिकारी चयनका लागि आन्तरिक गृहकार्यमा जुटेका थिए।
मंगलबारको बैठकमा प्रचण्डले ‘चर्चामा नभएका अनुहारलाई महासचिवमा ल्याउने कि’ भन्ने प्रस्तावसमेत राखेका थिए। वरिष्ठ उपाध्यक्षका लागि ३ नेताले दाबी गरेका छन्। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, मात्रिका यादव र कृष्णबहादुर महराको दाबी छ । तर खुमलटारमा चलेको गाईगुईं अनुसार नारायणकाजी श्रेष्ठ वरिष्ठ नेता बन्ने भएका छन् । उनलाई आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेतामा प्रस्ताव गर्ने बताइएको छ ।
माओवादीको विधानमा वरिष्ठ नेता नभएकाले विधान संसोधन गर्ने तयारी गरिएको छ । वरिष्ठ उपाध्यक्षमा नेता कृष्णबहादुर महरालाई प्रस्ताव गर्ने तयारी छ । उपाध्यक्षमा मातृका यादव, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, देव गुरुङ, हरिबोल गजुरेल, गणेश शाह लगायतको चर्चा छ ।
महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनले दाबी गरेका छन्। जनार्दन र वर्षमान दुवैलाई नचिढ्याइ पदाधिकारी टुंग्याउने तयारीमा प्रचण्ड छन्। तर शक्ति बस्नेतले पनि महासचिवमा चासो राखेका छन् । उनको सम्भावना कम छ ।
माओवादी नेताहरुका अनुसार वर्षमान पुन र जनार्दन शर्मा महासचिवका विषयमा सहमति नजुटे प्रचण्डले तेस्रो व्यक्तिलाई महासचिव प्रस्ताव गर्नसक्ने सम्भावना छ । यस्तोमा दुवै नेताहरुलाई उपमहासचिवको जिम्मेवारी दिइन सक्छ । अर्थ मन्त्रालयको विवादमा तानिएकाले शर्माको भन्दा पुनको सम्भावना ज्यादा छ । उपमहासचिवमा शक्ति बस्नेत भने पक्कापक्कि जस्तै देखिन्छन बाँकी रहेका स्थायी समिति सदस्यलाई सचिव र कोषाध्यक्षमा मिलाउने प्रचण्डको तयारी छ ।